चितवन, वैशाख ६ । देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षा व्यवस्थालाई मजबुत बनाउन गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि निर्देशन दिदै उनले देशलाई हिजोकै अस्थिरतातर्फ फर्काउने दाउमा केही लागिपरेको बताए । सुरक्षालाई बलियो बनाउँदै त्यसलाई रोक्नु आवश्यक रहेको उनको भनाइ छ ।
जनप्रतिनिधिलाई पत्र पठाउने, कारबाही गर्ने, चन्दा उठाउने, ठाउँठाउँमा विस्फोट गराउने जस्ता गतिविधि भइरहेको भन्दै उनले त्यस्ता गतिविधि तत्काल रोकिनुपर्ने बताए । अपराधी लुक्ने ठाउँका रुपमा चितवन विकास हुँदै गएको बताउँदै उनले भने जति विकास हुन्छ, चुनौती र अपराध थपिँदै जान्छ, सुरक्षा नीतिमा परिमार्जन गर्नु आवश्यक छ ।
लागूऔषध दुव्र्यसनी, तस्करी र कारोबारी बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रणका लागि पनि उनले निर्देशन दिएका छन् । लागूऔषधले घरघरमा विकृति बढाएको छ, यो अपराध नियन्त्रणमा विशेष कार्ययोजना बनाउन जरुरी छ– मन्त्री थापाले भने ।
प्रहरी संगठनमा भौतिक पूर्वाधार, उच्च प्रविधिलगायतको अभावका बीच पनि संगठनले आफ्नो छवि उच्च राखेर अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै यसलाई अझ सशक्त बनाएर अघि बढ्नुपर्ने बताए । प्रहरीको समयमा बढुवा नहुँदा आत्मबल उच्च राख्न नसकिएको भन्दै उनले यसलाई नीतिगत रुपमा परिवर्तन गर्ने आश्वासन दिएका छन् ।
उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले पर्याप्त मात्रामा जनशक्ति नहुँदा शान्ति सुरक्षा कायम गर्न कठिनाइ भएको बताएका छन् ।