तेह्रथुम, वैशाख ६ । नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा तेह्रथुमको लालीगुराँस नगरपालिकाले निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन थाल्ने भएको छ ।
नगर क्षेत्रका सबै विद्यालयमा नयाँ शैक्षिकसत्र २०७५ शुरु भएसँगै एकै किसिमको पाठ्यक्रम लागू गरी अंग्रेजी माध्यमबाट पठनपाठन गर्न थालिएको हो । अभिभावक र विद्यार्थीको ध्यान अंग्रेजी माध्यमले खिचेको र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर गिर्दो अवस्थामा रहेको नगरपालिकाले सरकारी शिक्षालाई प्रभावकारी बनाउन अंग्रेजी माध्यमको पठनपाठन थालेको हो ।
नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पढाइका लागि नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु ३३ लाख बजेट विनियोजन गरेको छ । नगर क्षेत्रमा बाल कक्षासमेत गरी ३३ वटा सामुदायिक विद्यालय रहेका छन् ।
आगामी वर्षबाट कक्षा थप गर्दै बजेटसमेत वृद्धि गरेर नगर क्षेत्रका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न आफूहरुको ध्यान केन्द्रित भएको नगर प्रमुख अर्जुन माबोहाङको भनाइ छ ।
अंग्रेजी माध्यमको पढाइकै लागि अभिभावकले बजार बस्नुपर्ने, बढी शुल्क तिर्नुपर्ने, न्यून आय भएकाले पढाउन नसक्नेजस्ता समस्याको समाधानका लागिसमेत नगरवासीको माग बमोजिम अंग्रेजी माध्यमको पठनपाठन थालिएको उनले बताए ।