खोटाङ, वैशाख ६ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका पाँच सडक मा एकैसाथ उद्घाटन गरिएको छ ।
एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक, वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक, झ्यालीकुवा–वडा कार्यालय सडक, इँटाभट्टी–सुर्के–थापाटोल–देवीस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक बुधबार एकैसाथ उद्घाटन गरिएको हो ।
आर्थिक वर्ष २०७४\७५ मा नगरपालिकाबाट वडा कार्यालयका लागि विनियोजित रु ५० लाखको खर्चमा निर्माण गरिएको पाँच वटा सडक नगर प्रमुख दीपनारायण रिजालले उद्घाटन गरे ।
चार किलोमिटर लम्बाइ भएको एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक रु ३० लाखको लागतमा र वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक रु आठ लाखको लागतमा निर्माण गरिएको हो ।
यस्तै, झ्यालीकुवा–वडा कार्यालय सडक, इँटाभट्टी–सुर्के–थापाटोल–देवीस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक रु चार–चार लाखमा निर्माण गरिएको वडाध्यक्ष ललितकुमार राईले जानकारी गराए ।
सडक उद्घाटनपछि बाम्राङको सबै टोलमा सहज रुपमा यातायात सञ्चालन हुन थालेको छ ।