भक्तपुर, वैशाख ६ । चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा आयोजना भएको उपत्यकाव्यापी खुल्ला नृत्य प्रतियोगिताको उपाधि सुशील तामाङलाई प्राप्त भएको छ ।
तामाङले उनन्तीसजना प्रतिष्पर्धीलाई पछि पार्दै रु २५ हजार, ट्रफी र प्रमाणपत्रसहितको उपाधि हासिल गरेका हुन् । प्रतियोगितामा अस्मिता पराजुली दोस्रो र रोजी लामा तेस्रो भएको मेलाका प्रेस संयोजक सोम शर्मा बजगाईंले बताए ।
उक्त प्रतियोगितामा दोस्रो भएका पराजुलीलाई रु १५ हजार, तथा तेस्रो हुने लामालाई रु १० हजार सहितको ट्रफी र प्रमाणपत्रसहितको पुरस्कार दिइएको छ । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले विजयी प्रतियोगीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।
त्यस्तै मेलामा आउने उपभोक्ताबाट संकलन गरिएको रु ८० हजार दुवै मिर्गौला काम नलाग्ने भई डायलोसिस गराइरहेका कुमार तामाङको उपचारका लागि सहयोग स्वरुप प्रदान गरिएको छ ।
मेला आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महत, संयोजक दीपक थापा, सुनिल महर्जनले उक्त रकम मिर्गौला उपचारका लागि पीडित तामाङका छोरा सोनाम तामाङलाई प्रदान गरेका थिए ।