सत्ता पक्ष र विपक्षी दल मिलेर अगाडि बढ्नुपर्छ : नेता सिंह

जनताको समृद्धिको चाहना पूरा गर्नका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।

बिहीबार बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले आर्थिक समृद्धिको चाहना चाँडोभन्दा चाँडो सफलतामा परिणत गर्नका लागि कांग्रेस पछि नहट्ने बताए । ‘देशलाई आर्थिक रुपमा समृद्ध बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकारमा रहेको दलको हुने भए पनि प्रतिपक्षको पनि भूमिका रहने बताउँदै कांग्रेस नेता सिंहले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि सत्ता पक्ष र विपक्षी दल मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

राजनीतिक दलहरु मिलेर संघर्ष गर्दा ठूला ठूला राजनीतिक परिवर्तन भएको तर, त्यसलाई संस्थागत गर्न नसक्दा फेरि अर्को आन्दोलन हुने गरेको चर्चा गर्दै उनले सबै मिलेर उपलब्धी संस्थागत गर्नुपर्ने उनको भनाइ छ ।

‘कुनै दल कुनै चुनावपछि सरकारमा जाला, कुनै प्रतिपक्षमा बस्नुपर्ला, यो ठूलो कुरा होइन उनले भने यो राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नको लागि सत्ता पक्ष र विपक्षी दल मिलेर अगाडि बढ्नुपर्छ, पोलिटिकल मुभमेन्ट सफल पनि हुन्छ । तर, सफल भएको केही वर्षमा अर्को परिवर्तनको लागि फेरि बेग्लै किसिमको आन्दोलन हुने गर्दछ,’ नेता सिंहले भने हामी दलहरुमा पनि आन्दोलन गर्न सबै मिल्ने र संस्थागत गर्ने क्रममा केही कमीकमजोरी देखिएको छ ।

संविधान कार्यान्वयन भइसकेको र संघीयता कार्यान्वयन भइसकेकाले अब त्यसलाई सशक्त रुपमा अघि बढाउनुको विकल्प नभएको उनको भनाइ छ ।

‘संविधानसभाबाट संविधान जारी भएको छ, हामी संघीयतामा छौं । यसलाई प्रभावकारी कार्यान्वयनको विकल्पै छैन,’ उनले, ‘बाधा अड्चनलाई पन्छाएर विधिसम्मत तवरले यो सिस्टमलाई सशक्तरुपमा र संस्थागत रुपमा अघि बढाउनु बाहेक अर्को विकल्प नरहेको बताए ।