३ असार । चुरे संरक्षण दिवसको अवसरमा शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहसहित तीन सामुदायिक वनलाई पुरस्कृत गरिएको छ ।
नदी प्रणाली व्यवस्थापन र चुरे संरक्षणमा विशेष योगदान पुर्याउने वैजनाथ समूहलाई शुक्रबार धार्मिक पर्यटकीय क्षेत्र विष्णु मन्दिर(साकेत धाम)मा आयोजना गरिएको कार्यक्रममा जिल्ला वन कार्यालय कञ्चनपुरले रु पाँच हजार र प्रमाणपत्रसहित पुरस्कृत गरेको छ । चुरे संरक्षणमा योगदान पुर्याउने भीमदत्तनगरपालिका, मटैनामास्थित सामुदायिक वन उपभोक्ता समूहलाई रु तीन हजार नगद, प्रमाणसहित द्वितीय पुरस्कार र कृष्णपुर नगरपालिकास्थित सहिद स्मृति सामुदायिक वन उपभोक्ता समूहलाई रु दुई हजारसहित तृतीय पुरस्कार उपलब्ध गराइएको थियो ।
वन डढेलो नियन्त्रण र वन संरक्षणबारे निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रजिअ मनोहरप्रसाद खनालले ती पुरस्कार प्रदान गर्दै चुरे क्षेत्र संरक्षणका लागि अझै योगदान गर्नुपर्ने उल्लेख गरे । साकेत धाम क्षेत्रभित्र रहेको धार्मिक वनमा वृक्षरोपण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।