श्रीमती विश्वेश्वरी अधिकारीको ‘नयाँ वर्ष’

नयाँ वर्ष
(छन्द्ःभुजङ्गप्रयात)

श्रीमती विश्वेश्वरी अधिकारी

बिते वर्ष हाम्रा विपद् नै सहेर, गए भाइ बहिनी, दिदी–दाजु खेर
सबैलाई भूकम्पले नै गलायो, कठै ! बाँच्नलाई समस्या ठूलै भो

न खाने छ खाना, न ओत्ने छ छाना, न ता छन् घडेरी, नछन् जीर्ण नाना
सबै चीजको नै पर्यो हा खडेरी, हरे ! दैव नै भो असाध्यै निठुरी

नयाँ वर्ष आयो सबै बन्धुमाझ, पुराना कुरालाई बिर्सेर आज
तिमीले सुरीलो बजायौ विगूल, नयाँ शक्ति ल्यायौ बनी शूरवीर

यहाँको समस्या सबैमाथि आज, परेको छ है बुझ्नुहोस् स्वस्तिराज !
यहाँका सबैमा नयाँ सोच ल्याऊ, सबैको नयाँ भाव पूरा गराऊ

तिमीले पछारी पछौटे विचार , नयाँ वर्ष आयो सबैमाझ हेर
सबै माझ नेपालमा सद्विचार फिजाऊ सँधै सत्यको नै जुहार

मलाई छ यो देशको घेरै माया, नराम्रो न होस् शत्रुको रुष्ट छाँया
म यो देशमा नै हिरा–मोति विन्दु, सबै विश्वलाई सम्हालेर हिड्छु

सबै विश्वको फूलबारी अदम्य, बनोस् देश यो सप्तरंगी सुरम्य
फिजाई सबै देशमा शान्तिगीत, बनी आउ भाई ! सुनौला बसन्त

बिराना भएका सबै दाजुभाई, छुटाएर दासत्व आउ रमाई
नयाँ वर्ष ! ल्याऊ नयाँ यो विचार, सजाएर नेपाल आमा सम्हाल