गौतम बुद्धको जन्मजयन्तीका अवसरमा पोर्चुगलमा बृहत् शोभायात्रा हुँदै

पोर्चुगल, वैशाख ९ । विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६२ औं जन्मजयन्तीका अवसरमा युरोपेली मुलुक पोर्चुगलमा विविध कार्यक्रम गरी मनाइने भएको छ ।

पर्यटनदूत रमेशकुमार गुरुङले भगवान गौतम बुद्ध र बुद्ध भूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली संघसंस्थाहरु सम्मिलित मूल समारोह समिति बनाएर विविध कार्यक्रम हित बुद्धजयन्ती मनाउन लागेको बताएका छन् ।

बुद्धको बारेमा विदेशीलाई जानकारी गराउने र बुद्ध नेपालमा नै जन्मेका हुन् भन्ने सन्देश दिने कार्यक्रमको मूल अभिप्राय रहेको पर्यटनदूत गुरुङको भनाइ छ । यही वैशाख १७ गते राजधानी लिस्बनमा बृहत् शोभायात्रा गरिने भएको छ– पर्यटनदूत गुरुङले भने ।

नेपाली बाजागाजा, बुद्धका मूर्ति, बुद्ध अंकित तस्बीर, प्लेकार्ड, ब्यानर, नेपालको राष्ट्रिय झण्डा र सांस्कृतिक झाँकीसहित शोभायात्रा गरिनेछ । र्यालीमा पोर्चुगलमा रहेका नेपाली, लामा, स्वदेशी तथा विदेशी बौद्ध अनुयायीको सहभागिता रहने जनाइएको छ ।

रोसियोस्थित समुन्द्र किनारबाट शोभायात्रा थालेर मुख्य सडकहरु परिक्रमा गरी मार्तिममुनिज पार्कमा आएर समापन हुनेछ । र्यालीपश्चात् सिन्डिकेट हलमा धर्म गुरुद्वारा बुद्धको पुजापाठ गरिने गुरुङले जानकारी गराएका छन् ।