जुम्लामा रोपाइँ महोत्सव आयोजना

जुम्ला, ४ असार । जिल्ला कृषि विकास कार्यालय जुम्लाद्वारा शनिबार तातोपानी गाउँपालिका–५ ऐरेनी ज्यूलामा रोपाइँ महोत्सवको आयोजना गरिएको छ । १४ औँ राष्ट्रिय धान दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम ‘स्वस्थ जीवनका लागि एकछाक भात, एकछाक रोटी खाउँ, धान÷चामलको आयात कम गरी परनिर्भरता घटाऔँ’ भन्ने नाराका साथ रोपाइँ महोत्सवको आयोजना गएिको हो ।

कृषिवस्तुको आयात प्रतिस्थापन गरी कृषि बालीको जगेर्नाका लागि सन्देश प्रदान गर्ने उद्देश्यले सो महोत्सव गरिएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बालकराम देवकोटाले बताए । अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको धानबालीको उत्पादकत्व बढाउनका लागि ध्यान दिनुपर्ने स्थानीय विकास अधिकारी हरिनाराण बेल्बासेले बताए । कृषिमा हाम्रो जीवन निर्भर छ भन्ने कुरा कसैले ध्यान दिन नसकेकाले यो पेसालाई हेला गरिन्छ भन्दै उनले कृषकलाई सम्मानयुक्त जीवन जिउने वातावरण राज्यले सिर्जना गर्न सकेमात्र कृषिमा आत्मनिर्भर बन्न सक्ने उल्लेख गरे ।

सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज न्यौपानेले विश्वको सर्वाधिक उचाइमा फल्ने कालीमार्सी धान जुम्लामा पाइनु भनेको गर्वको कुरा रहेको बताए । यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि जुम्लीवासी, कृषि बिभाग र नेपाल कृषि अनुसन्धानको प्रमुख दायित्व रहने पनि उनले बताए । मुलुकमा सबैभन्दा बढी प्रयोगमा आउने बाली धान बाली भएको चर्चा गर्दै वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले नेपालमा कुल उत्पादित एक करोड खाद्य बालीमा धान मात्रै ५० लाख मेट्रिक टन उत्पादन हुने बताए । नेपालको कुल क्षेत्रफलमध्ये १५ लाख हेक्टरमा उत्पादन गरिने सो बाली जुम्लामा दुई हजार नौ सय ५० हेक्टरमा धानखेती गरिँदै आएको छ ।

जुम्लामा पाँच जातका धान उत्पादित हुँदै आएका छन् । जसमा कालीमार्सी, चन्दननाथ एक र तीन, लेकाली एक र तीन गरी पाँच जातका धान उत्पादित हुँदै आएको छ । त्यसमध्ये ३० प्रतिशत कालीमार्सी र ७० प्रतिशत उन्नत जातको धानखेती हुने गर्दछ । आडिलो र पौष्टिकतत्वले भरिपूर्ण यो धानको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा जोड दिए जुम्ला धान खेतिमा आत्मनिर्भर बन्न सक्छ ।