बर्दिया, वैशाख ११ । बलात्कार अभियोगमा जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्धमा मुद्दा दर्ता भएको छ । एक बालिकाले नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा आफुलाई यौन दुव्र्यबहार गरेको आरोप लगाएकी छिन् ।
१५ वर्षीया उनी गत बिहीबार दुव्र्यवहारको सिकार भइकी थिइन् । उनकी फुपु सोही कार्यालयका प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्छिन् । विद्यालय छुट्टि भएको समयमा फुपुसँग बस्न आएकी बालिकालाई पढाउन भनेर प्रमुख नेपालले पाहुना कोठामा लगेको पीडित बालिकाले आरोप लगाएकी छिन् ।
फुपु खाना पकाउनका लागि भान्सामा गएपछि प्रमुख नेपालले ढोकामा चुक्कुल लगाएर पढाउने बहानामा दुव्र्यवहार गरेको ती बालिकाको भनाइ छ ।
पढाउने बहानामा अंगालो हाल्ने, स्पर्श गर्नेलगायतका क्रियाकलाप गरेर जिशिअ नेपालले बालिकालाई दुव्र्यवहार गरेको आरोप छ ।
नेपालको खोजी भइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताएका छन् । नेपालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ ।