सङ्गीतनाट्य पुरस्कार छ स्रष्टालाई प्रदान गरिने

काठमाडौँ, वैशाख ११ । यस वर्षको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ छ जनालाई प्रदान गर्ने नेपाल संगीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठानले घोषणा गरेको छ ।

यस वर्षको नाट्य विधातर्फको पुरस्कार नाटक तथा रङ्गक्षेत्रमा लामो समयदेखि योगदान पुर्याए वापत वरिष्ठ नाट्यविद् रामावतार यादव, संगीततर्फको पुरस्कार वरिष्ठ गीतकार किरण खरेल, नृत्यतर्फको पुरस्कार वरिष्ठ नृत्यांगना सुभद्रा अधिकारी र गायनतर्फ वरिष्ठ लोकगायक लक्ष्मीप्रसाद जोशीलाई प्रदान गरिने भएको छ ।

यसैगरी शास्त्रीय तथा परम्परागत संगीत विधातर्फको प्रज्ञा पुरस्कार वरिष्ठ पौराणिक तथा शास्त्रीय वाद्यवादक एवं गायक पुष्परत्न तुलाधर र रङ्गमञ्च विधातर्फको प्रज्ञा पुरस्कार वरिष्ठ नाट्यकर्मी मदनदास श्रेष्ठलाई प्रदान गरिनेछ ।

यसअघि प्रतिष्ठानले प्रज्ञा पुरस्कार चार विधामा प्रदान गर्दै आएको थियो । यस वर्षदेखि दुई विधा थपेर छ विधामा वितरण गर्न लागिएको सदस्य सचिव गणेश रसिकले बताए ।

संगीत, नाट्य, नृत्य, लोकसंगीत, नाट्य, परम्परागत तथा शास्त्रीय संगीत र रंङ्मञ्च विधामा प्रदान गरिने ती पुरस्कारको राशि जनही रु एक लाख एक र साथमा ताम्रपत्र रहनेछ । पुरस्कार प्रतिष्ठानको आठौंँ वार्षिक उत्सवका अवसरमा प्रदान गरिनेछ ।