ने.का भित्र टिकट वितरणमा चरम असन्तुष्टि देखिए पछि डडेल्धुरामा असन्तुष्ट पक्षधर नेताहरू ‘बागी’ उठी उमेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेस नेतृत्व तहको निर्णयका विरुद्ध जिल्ला स्तरीय कांग्रसीहरुले आपत्ती जनाउँदै कांग्रेस कार्यकर्ताले एउटा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र विभिन्न वडामा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
डडेल्धुरा नेपाली कांग्रेस पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो । अजयमेरु गाउँपालिकाको अध्यक्ष पदमा पार्टीका महाधिवेशन प्रतिनिधि रहेका लोकराज भट्टले बागी उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् । उनी त्रिभुवन विश्वविद्यालयका पूर्वस्ववियु सभापति हुन् । सोही गाउँपालिकामा किशोर बिष्टले उपाध्यक्षमा मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा कमलसिंह भाट र उपाध्यक्षमा कमला बिष्टलाई टिकट दिएको थियो । सो स्थानमा मात्र नभई नवदुर्गा गाउँपालिकाको–४ बाट टेकबहादुर साउदले बागीमा आफ्नो उम्मेदवारी घोषणा गर्दै मनोनयन दर्ता गराएका छन् ।
अमरगढी नगरपालिकाको वडा नम्बर २ अध्यक्षमा पुष्पराज जोशी, वडा नम्बर–३ आध्यक्षमा वीरबहादुर ऐर, वडा नम्बर–४ अध्यक्षमा गगन सिंह बिष्ट र तेजबहादुर बोहरा, वडा नम्बर–६ अध्यक्षमा बलराम भट्टले बागी उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएको स्रोतले जनाएको छ । डडेल्धुरा कांग्रेसमा सभापति कर्णबहादुर मल्ल र पूर्वसभापति रघुवर भट्टका दुई धार देखिदै आएका थिए । दुवै पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको छत्रछायामा हुर्किएका युवा नेता तथा प्रखर वक्ता हुन् । पार्टीको तेह्रौं महाधिवेशनमा देउवाको इच्छाविपरीत मल्ल भट्टलाई पराजित गर्दै पार्टी सभापतिमा निर्वाचित भएका थिए । त्यसपछि मल्ल र भट्टबीच दुरी बढ्दै कांग्रेसीहरुमा विभाजन देखिएको थियो ।
जिल्लामा उम्मेदवारको अन्तिम टुंगो लाग्न नसकेपछि डडेल्धुरा कांग्रेसले केन्द्रमा सिफारिस पठाएको थियो । केन्द्रले मल्ल पक्षधर नेतालाई पाखा लगाउँदै भट्ट पक्षलाई टिकट दिने निर्णय गरे पश्चात नेपाली कांग्रेस डढेल्धुरामा नेका भित्रको असन्तुष्टी र विभाजन छरपस्ट भएको छ । पार्टी सभापति देउवामाथि आफ्नै गृह जिल्लामा देखिएको विवादले ठुलो दवाव तथा संकट सिर्जना भएको एक स्रोतले जनाएको छ ।