धरहराको निर्माण कार्य जतिसक्दो हुने : प्रम ओली

काठमाडौँ, वैशाख १२ । सरकारले धरहरा निर्माणलाई सक्दो चाँडो अगाडि बढाउने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेका छन् । विसं २०७२ को वैशाख १२ गते शनिबारको दिनमा गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सो कुरा बताएका छन् ।

अब देश समृद्धि र विकासको बाटोमा अगाडि बढेको प्रधानमन्त्री ओलीले बताउँदै धरहरा निर्माणसँगै भूकम्पपछिको नवनिर्माण र पुनःनिर्माणमा सहयोग गर्न सबैसँग अपिल गरेका छन् ।
प्रधानमन्त्री ओलीले हाम्रो कलात्मकता र सुन्दरतालाई कायम राख्दै पुरानै शैलीमा, भूकम्प आउँदा पनि नभत्किने बलियो धरहरा, रानीपोखरी, काष्ठमण्डप तथा वसन्तपुरका सांस्कृतिक संरचनालगायत अन्य संरचना निर्माणमा सरकार जुटेको प्रष्ट पारे ।

प्रधानमन्त्री ओलीले आगामी दिनमा सरकारले सत्ताभन्दा पनि जनता बलियो हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै देशमा समृद्धिवाद आउने जानकारी गराएका छन् । उक्त अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँमा भत्किएका घरको पुनःनिर्माणसँगै पुराना घरसमेत भत्काउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

कार्यक्रममा मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सरकारी उच्च पदस्थ कर्मचारीको सहभागिता रहेको थियो । २०७२ वैशाखमा आजकै दिन गएको विनाशकारी भूकम्पका कारण ३१ जिल्लामध्ये १४ जिल्ला अतिप्रभावित बनेका थिए । वैशाख १२ गतेको भूकम्प र त्यसपछि गएका पराकम्पका कारण आठ हजार ९७९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए । भूकम्पका कारण करीब रु सात खर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो ।