२०६६ देखि यता संवैधानिक इजालासमा ५० मुद्दा फछ्र्योट

काठमाडौँ, वैशाख १३ । वि.सं २०६६ देखि यता अहिलेसम्ममा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ५० वटा मुद्दा मात्र फछ्र्योट भएका छन् ।

संविधानमा भएका व्यवस्थासम्बन्धी विवादमा अहिलेसम्म २६५ मुद्दामा इजलासमा ५० वटा मात्र मुद्दा फछ्र्योट भएको सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले बताएका छन् । हप्तामा दुई दिनमात्र संवैधानिक इजलासमा परेका मुद्दा भएकाले धेरै फछ्र्योट गर्न नसकिएको उनको भनाइ छ ।

संवैधानिक इजलास बुधबार र शुक्रबार मात्र न्यायाधीशले हेर्ने गरेका छन् । अहिले सर्वोच्चमा कामु प्रधानन्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसेले हेर्छन् । २०७२ सालको संविधानको धारा १३७ ले संवैधानिक इजलासको व्यवस्था राखेको छ ।

संवैधानिक इजालसमा संविधानसँग बाँधिएका रिट निवेदन, संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तहबीचको संविधानका अधिकारबारे उठेको विवाद तथा संसद्का सदस्यको योग्यताबारे उठेका विवादसम्बन्धी मुद्दा हेर्ने गरिन्छ ।

वि.सं २०७२ को संविधान गठन हुनुभन्दा पहिले सर्वोच्चमा विशेष इजलासले संविधानसम्बन्धी उठेका विषय हेर्ने गर्दथ्यो ।