काठमाडौँ, वैशाख १४ । घरेलु हिंसासँग जोडिएर आएका उजुरीको फछ्र्योट गर्ने सन्दर्भमा अपनाइने मेलमिलापलाई राष्ट्रिय महिला आयोगले थप प्रभावकारी बनाउने भएको छ ।
त्यसका लागि आयोगले मेलमिलापमा प्रत्यक्ष संलग्न रहने अधिकारीलाई मेलमिलापका लागि अपनाउनु पर्ने विधि, प्रक्रिया र सजगताबारे प्रशिक्षण थालेको छ । आठदिने सो प्रशिक्षणमा सरकारी र गैरसरकारी गरी २७ जना अधिकृतको सहभागिता रहेको छ ।
प्रशिक्षणका क्रममा द्वन्द्व, विवादको अवधारणा र विकास, विवाद समाधानका परम्परागत तरिका, मेलमिलापसम्बन्धी कानूनी व्यवस्था, मेलमिलापको महत्व, मेलमिलापमा वार्ताको सीप, मेलमिलाप कर्ताले अपनाउनु पर्ने पूर्वतयारीकाबारेमा प्रशिक्षण दिइने आयोगका कार्यक्रम संयोजक पलिता थापाल बताए ।
आयोगले आएका उजुरीमा मिल्ने सम्भावना कति रहन्छ, मेलमिलाप गर्ने बिन्दु के हो भन्नेबारेमा दुवै पक्षलाई मनोसामाजिक परामर्श, कानूनी सहायता र बालबच्चाको हेरविचारमा ध्यान दिनुपर्ने जस्ता कुरामा आयोगले सहयोग पुर्याउँदै आएको छ ।
सो प्रशिक्षणको उच्च अदालत ललितपुरका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले उद्घाटन गर्दै महिला हिंसासँग जोडिएर आएका उजुरीलाई अदालतले प्राथमिकता दिने गरेको बताए ।
आयोगको लैंगिक हिंसा रोकथाम तथा सम्बोधनका लागि एकीकृत परियोजनामार्फत सञ्चालित उक्त तालीममा मेलमिलापमा सामाजिक न्याय, लैंगिकता, मानवअधिकार र न्यायोचित समाधानका बारेमा समेत प्रशिक्षण हुनेछ ।