गोरखाका स्वास्थ्यचौकी पुनःनिर्माणमा अस्तव्यस्त

गोरखा, ५ असार । भूकम्पले क्षति पुर्याएका गोरखाका विभिन्न १२ वटा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्ने अनुमति लिएको युनिसेफले जिम्मेवारी लिए बमोजिम तोकिएको समय अवधिमा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्न सकिरहेको छैन ।

युनिसेफले दर्बुङ स्वास्थ्य चौकी भवन मात्रै पुनःनिर्माण सम्पन्न गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गुम्दाको माछाखोला, छोप्राक, आरुपोखरी, फुजेल, गुम्दा गाउँ, बारपाक, लाप्राक, गोरखा नगरपालिका अन्तर्गत पर्ने तारानगर, बक्राङ, देउराली र नाम्जुङ स्वास्थ्य चौकी पुनःनिर्माण गर्ने जिम्मा लिएको युनिसेफले भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि भवन पुनःनिर्माणमा चासो देखाएको छैन । स्वास्थ्य चौकी पुनःनिर्माण नहुँदा त्रिपाल, टेन्टबाटै बिरामीलाई सेवा दिनुपरेको स्वास्थ्यकर्मीले गुनासो गर्दै आएका छन् ।

गत वर्ष मङ्सिरमा निर्माण सामग्री अस्तव्यस्त अवस्थामा राखेर अहिलेसम्म स्वास्थ्य चौकी भवन पुनःनिर्माण सुरु नभएको नाम्जुङ स्वास्थ्य चौकी प्रमुख लीला गुरुङले बताएका छन् । सामान थुप्राएर गएका युनिसेफका कर्मचारी फर्केर नआएको बताउँदै जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले युनिसेफलाई पटक–पटक पत्राचार गरी भवन निर्माण सक्न निर्देशन दिएको जनाएको बताइएको छ । कार्यालयमा रही संघसंस्था हेर्दै आएका स्वास्थ्य सहायक नानीबाबु दानीका अनुसार युनिसेफले काम गर्न असमर्थ भए अरु संस्थालाई काम दिने बताएका छन् । दानीले भने काम गर्न नसक्ने हो भने सक्दिन भन्नुपर्यो हामी विकल्प खोज्छौं । सन् २०१६ मा भवन निर्माण सक्ने गरी जिम्मेवारी लिएको युनिसेफले अझै स्वास्थ्य चौकी भवन निर्माणलाई तीव्रता दिन नसक्दा जनस्वास्थ्य कार्यालमा ठूलो हानी पुगेको जनस्वास्थ्य कार्यलयले जनाएको छ । भवन निर्माण नगरी अलपत्र छाडेकोबारे प्रतिक्रिया लिँदा युनिसेफका कर्मचारीले आफूहरुले सूचना दिन नमिल्ने भन्दै पछि हट्ने गरेका छन् ।

विनासकारी महाभूकम्पले गोरखाका ५२ वटा स्वास्थ्य चौकीमा पूर्ण रुपमा क्षति पु¥याएको थियो । यीमध्ये पाँच वटा असल छिमेकी नेपाल पोखराले पुनःनिर्माण कार्यलाई सम्पन्न गरिसकेको छ । केयर नेपाल, आइएमसी लगायत विभिन्न संघ संस्थाले पनि स्वास्थ्य चौकी भवन निर्माण गरिदिएका छन् । पक्की भवन निर्माण गर्न ढिलो हुँदा पनि अर्धपक्की भवन निर्माण सकिएको छैन ।