खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही : मन्त्री पण्डित

लुम्बिनी, वैशाख १४ । राष्ट्रसेवक कर्मचारी सरकारले तोकेको ठाउँमा जानुपर्ने संघीय मामिला तथा सामन्य प्रशाशनमन्त्री लालबाबु पण्डितले बताएका छन् ।

मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाउँमा पनि जान्छु भनेर शपथ खाएको स्मरण गराउँदै सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने बताएका हुन् । मन्त्री पण्डितले सरकारले तोकेको स्थानमा नजाने कर्मचारीलाई जागिरबाट राजिनामा दिएर निजी व्यवसाय थाल्न सुझावसमेत दिएका छन् ।

आज लुम्बिनी प्रेस क्लबद्वारा भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सरकारले खटाएको स्थानमा नजाने कर्मचारी राष्ट्रसेवक हुनै नसक्ने भन्दै त्यस्ता कर्मचारीले राजीनामा दिएर अन्य व्यवसाय गरे सरकारलाई कुनै आपत्ति नहुने बताए ।

उनले वैशाख १८ गतेसम्म कर्मचारीलाई १५ ठाउँ रोज्ने अवसर दिएको भन्दै त्यसमा भाग नलिए पनि सरकारले खटाएको ठाउँमा जानैपर्ने बताए । मन्त्री पण्डितले कर्मचारी समायोजनका नाममा कर्मचारीले एक तह बढाउन माग गरेको बताउँदै सरकारले अहिले कर्मचारीको तह वृद्धि गरेर समायोजन गर्न नसक्ने बताए ।

राष्ट्रसेवक कर्मचारी भए सरकारले खटाएको ठाउँमा जानुपर्दछ होइन भने जागिर छाडेर निजी जीवन बिताए हुन्छ मन्त्री पण्डितले भने कुनै पनि कमर्चारी म सरकारले खटाएको ठाउँमा जानै पाइदैन ।

मन्त्री पण्डितले दुई पार्टीबीचको एकताको कुरा अन्तिमचरणमा पुगेको भन्दै अब एकताको मिती तय गर्न मात्रै बाँकी रहेको बताएका छन् । उनले वर्तमान वाम गठबन्धनको सरकारले मुलुकमा विकास निर्माण र सुशासनमा विशेष ध्यान दिने बताए ।