अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने : मन्त्री यादव

काठमाडौँ, वैशाख १६ । नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताएका छन् ।

आज दक्षिण एशियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको तेस्रो सम्मेलनको उद्घाटन गर्दै उनले नेपाल, भारत र बंगलादेशसँग छलफल गरेर सो विषयलाई अगाडि बढाउन लागिएको जनाएका छन् ।

मन्त्री यादवले भने नेपाल र बंगलादेशबीचको सबैभन्दा छोटो दूरीमा टनेल बनाउने विषयलाई अगाडि बढाएका छौँ, यो टनेल बनेपछि विश्वसँगको सम्पर्क सञ्जालमा अझै सहजता आउँछ । नेपाल अतिकम विकसित भूपरिवेष्टित मुलुक भएकाले विश्वसँग जोडिन कठिनाइ भएको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका अवसरमा नेपाललाई जलमार्गसँग जोड्ने विषयलाई अगाडि बढाउने सहमति भैसकेको बताए ।

नेपालको चीनसँग पनि राम्रो सम्बन्ध रहँदै आएको र त्यसलाई अझ विस्तार गरेर समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । दक्षिण एशियाली मुलुकसहित सबैलाई नेपालमा लगानी गर्न उनले आह्वान गरेका छन् । मन्त्री यादवले भने निर्धक्क भएर लगानी गर्नुहोस्, हामी नेपालमा लगानीको वातावरण बनाउन तयार छौँ र सबै किसिमको सुरक्षा दिन तयार छौँ ।

उनले छिमेकी मुलुकलाई समृद्धिको बाटोमा सँगसँगै लैजान अनुरोध गरेका छन् । व्यवसायीलाई उत्पादन बढाउन आग्रह गर्दै मन्त्री यादवले हाम्रो देश सबैको बजार भएको छ, अन्य देशमा हामीले बजार खोज्न सकेका छैनौँ, हामीले बजार प्रवद्र्धन गरेर चुलिएको व्यापारघाटा कम गर्नुपर्छ भने ।

कार्यक्रममा दक्षिण एशियाली मुलुकका १५० जना साना तथा मझौला व्यवसायीको सहभागिता रहेको छ । मञ्चले दक्षिण एशियामा व्यापार सहजीकरण तथा विस्तार, पारवहन र सम्पर्क विस्तारमा सहयोग गर्दै आएको छ ।

एकदिने सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश र चीनका प्रतिनिधिले विविध विषयमा छलफल गरी विस्तृत प्रतिवेदन तयार गरेर आ–आफ्ना सरकारलाई दिने र क्षेत्रीय व्यापार सहजीकरणको वातावरण बनाउने कार्यक्रम रहेको छ ।