डोल्पाका पाठेघरपीडित महिलाको लागि निःशुल्क शल्यक्रिया शिविर

दुनै, डोल्पा, वैशाख १७ । नेपालका विभिन्न दुर्गम क्षेत्ररुमा महिलाहरु पाठेघरको क्यान्सरका कारण अकालमा नै ज्यान गुमाइ रहेका छन् । कतिपयलाई महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएर पाठेघरमा विभिन्न समस्या आउँदा पनि लुकाएर बस्न विवश छन् ।

यस्तै डोल्पा जिल्लाको अस्पतालमा हालै सञ्चालन गरेको पाठेघरको शल्यक्रिया शिविरमा ११ जना पाठेघरपीडित महिलाले निःशुल्क शल्यक्रिया गराएका छन् । दुर्गम हिमाली जिल्ला डोल्पामा पहिलोपटक सञ्चालन गरिएको शिविरबाट जटिल समस्याबाट पीडित बनेका महिलाले गाउँघरमै स्वास्थ्य सेवा पाउँदा हर्षित बनेका छन् ।

पूर्व शान्ति मन्त्री तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेट सदस्यसमेत रहनुभएकी सत्य पहाडीको विशेष पहलमा डोल्पा पुगेको विशेषज्ञ डाक्टरको टोलीले गत शुक्रबारदेखि तीन दिनसम्म पाठेघर खसेका महिलाको शल्यक्रिया शुरु गरेको थियो । त्यस्तै विशेषज्ञ डाक्टर आएको मौका छोपेर मासु पलाएका, पिप जमेका, काटिएकालगायतका आठवटा अन्य जनरल शल्यक्रियासमेत गरिएको जिल्ला अस्पताल डोल्पाका डा अनुपमंगल समालले जानकारी दिएका छन् ।
शिविरमा दुई सयभन्दा बढी पाठेघर खस्ने रोगका पहिलो र दोस्रो चरणका समस्या भोगिरहेका महिलाले शिविरमा जाँच गराएका हुन् । यसरी शल्यक्रिया गरिनु डोल्पाली महिलाका लागि ठूलो अवसर भएको स्थानीयवासीले जानकारी दिएका हुन् । एक महिलाको पाठेघरको शल्यक्रिया गर्नमात्रै रु ३५ देखि ४० हजारसम्म लाग्छ, डोल्पाबाटै जिल्ला बाहिर जान जहाज भाडादेखि होटल खर्चसहित रु एक लाखभन्दा बढी खर्च जुटाउनु पथ्र्यो, जिल्लामै पहिलो पटक शल्यक्रिया भएपछि डोल्पाली महिलाको लाखौँ रुपैयाँ जोगिएको छ, यस्तो अवसर कमैमात्रामा पाइने डा समालले बताए ।

शिविर सञ्चालन भएको तीन दिनको अवधिमा मात्रै ३०० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य जाँच गराएको जिल्ला अस्पताल डोल्पाले बताएको छ ।

जिल्लामै पहिलोपटक सदरमुकाममै पाठेघरको निःशुल्क शल्यक्रिया शिविर शुरु भएपछि जिल्लाका त्रिपुराकोट, सुँ, जिँउ, जुफाल, माझफाल, दुनैलगायतका विकट बस्तीबाट २०० भन्दा बढीपीडित महिला उपचार गर्न सदरमुकाम दुनैस्थित जिल्ला अस्पतालमा पुगेका थिए । यस जिल्लाको कुनै पनि महिला शल्यक्रिया गर्नुपर्ने नछुटेको अस्पताल प्रशासनले बताएको छ । तर एक ७० वर्षिया पाठेघरपीडित महिलाको भने पाको उमेरका कारण शल्यक्रियाको भार थाम्न नसक्नाले उनको शल्यक्रिया नहुने जिल्ला अस्पताल डोल्पाले जानकारी गराएको छ ।

त्यस्तै जिल्लामै पाठेघरको शल्यक्रिया भएपछि लामो समयदेखि ग्रसित त्रिपुरा सुन्दरी नगरपालिका–४ की मनभुजा धरला पनि खुशीले भावुक भएकी छन् ।
उनको पनि आइतबार पाठेघरको शल्यक्रिया भएको थियो । शल्यक्रियापछि आफ्नो स्वास्थ्यमा सुधार आएको उनले बताइन् ।
अर्की रुपधनी सार्की पनि पाठेघरको उपचारका लागि त्रिपुरा सुन्दरी नगरपालिका–१ बाट चार घण्टाको पैदल हिँडेर दुनै पुगेकी थिइन् । लामो समयदेखि पाठेघर खस्ने समस्याले ग्रसित उनको स्त्री रोग विशेषज्ञ राजबहादुर शाहीसहितको विशेषज्ञ टोलीले आइतबार उपचार गरेको थियो ।

जिल्ला अस्पतालमै आयोजना भएको निःशुल्क शल्यक्रिया शिविरमा पाठेघरपीडित सयौँ महिला गाउँगाउँबाट आए पनि उनीहरुको समस्या हेरेर शल्यक्रिया गर्नैपर्ने महिलाको नछुटाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको डा अनुपमंगल समालले जानकारी दिए ।
उनका अनुसार हामीले शिविरको अवधि दुई दिन भए पनि उनीहरुको संख्यालाई हेरेर एक दिन थपेर शिविरको अवधि चार दिन पु¥याइएको हो । घरआँगनमै निःशुल्क शल्यक्रिया हुने भएपछि महिलाको ओइरो लागेको थियो, उनीहरुको समस्या हेरेर उपचार गरिएको छ ।

डोल्पाली महिलाको पाठेघर खस्ने प्रमुख कारण भने उनीहरुको सानै उमेरमा बिहे गर्ने, धेरै बच्चा जन्माउनाले, दुर्गमको संस्कार घरदेखि वनको सबै काममा महिला नै जोतिनुपर्छ भन्ने पुरुषवादी सोचका कारण, यस्तो भएको जिल्ला अस्पताल डोल्पाका डा श्रीकान्त अग्रवालले जानकारी दिएका छन् ।

डोल्पा अस्पताललाई १५ शय्याबाट बढाएर ५० शय्या बनाउनका लागि पहल भइरहेको विशेषज्ञ डाक्टरसहित औषधि उपकरण बोकेर डोल्पा पुग्नुभएकी पूर्व शान्ति मन्त्री पहाडीले बताएकी छन् ।

आफू कर्णालीका धेरै जिल्लाका अस्पतालमा घुमिसकेकाले डोल्पा अस्पतालको सेवा राम्रो भएको उनको भनाइ छ ।
अस्पतालका वर्तमान समस्याहरु समाधान गर्दै जनतालाई गुणस्तरिय सेवा दिनकोलागि आफू लागिपरेको नेतृ पहाडीले बताइन् ।
जिल्लाका महिलाहरुलाई कामको अत्याधिक भार, असन्तुलित खानपान र धेरै बच्चा जन्माउने भएकाले डोल्पाका ३० प्रतिशतभन्दा धेरै महिलाहरु पाठेघरका समस्या भोगी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।