ललितपुर, वैशाख १७ । श्रीमहालक्ष्मी नगरपालिका–१० स्थित लाँकुरी भञ्ज्याङमा भगवान् गौतम बुद्धको करीब ४० फिट अग्लो मूर्ति बनाइने भएको छ ।
साथै विपश्यना ध्यान केन्दको पनि स्थापना गरिने भएको छ । आज २५६२औं बुद्ध जयन्तीका अवसरमा सोही नगरपालिका–६ स्थित सिद्धिमंगल बुद्ध विहारमा आयोजित कार्यक्रममा प्रदेश नं ३ का सभासद् माधव पौडेलले उक्त मूर्ति बनाइने र ध्यान केन्द्रको पनि स्थापना गरिने निर्णय भएको बताएका छन् ।
बुद्धको सन्देशबाट मानिसको हितका साथै ज्ञान पनि प्राप्त हुने भएकाले यसलाई व्यापक रूपले प्रचार–प्रसार गर्नुपर्नेमा उनको जोड छ ।
सो नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले संक्रमणकाल पछिको देशको शान्ति, सुव्यवस्था र विकासका लागि भगवान् बुद्धका सन्देशले मार्ग प्रशस्त गर्छ भन्दै यसबाट घर परिवार, गाउँ, समुदाय र विभिन्न धार्मिक सम्प्रदाय बीचको सम्बन्ध सुमधुर बनाउन सहयोगी भूमिका निभाउने बताए ।
सो विहारका भिक्षु विमलो स्थवीर, सोही क्षेत्रका वडाध्यक्ष वासुदेव महर्जन लगायतका वक्ताले बुद्ध धर्मका विविध विषयका बारेमा उल्लेख गरेका थिए ।
सोही उक्त अवसवरमा सो विहारबाट प्रकाशित ‘त्रि–बोधिरस’ नामक पहिलो मासिक पत्रिकाको सामूहिक रुपमा लोकार्पण गरिएको थियो ।