झापामा मात्र तीन हजार ३३६ जनाको मनोनयन दर्ता

काँकडभिट्टा, असार ५ । दोस्रो चरण अन्तर्गतको स्थानीय निर्वाचनका लागि झापामा मात्रै तीन हजार ३६६ जनाले मनोनयन दर्ता गराएका छन् । झापाका मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेका अनुसार झापामा नगर प्रमुख तथा गाउँपालिकाका अध्यक्ष पदमा १२९ जना र उपप्रमुख तथा उपाध्यक्षमा १६५ जनाले मनोनयन दर्ता गराएका छन् भने १३१ वडा अध्यक्ष पदका लागि ७३२ जनाले मनोनयन दर्ता गराएको बताएका छन् ।

महिला सदस्य पदका लागि ६०३ जना, दलित महिला सदस्यका लागि ५१८ जना र खुल्ला सदस्य पदका लागि एक हजार २७६ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत पाण्डेले जानकारी गराएका छन । आइतबार भएको मनोनयन दर्तामा सबैभन्दा बढी मेचीनगर नगरपालिकामा ३७७ जनाले मनोनयन दर्ता गराएका निर्वाचन अधिकृत इन्दिरा शर्माले बताएकी छिन । त्यसैगरी, भद्रपुर नगरपालिकामा २९६, दमक नगरपालिकामा २९१, अर्जुनधारा नगरपालिकामा २८८, शिवसताक्षी नगरपालिकामा २८३, बिर्तामोड नगरपालिकामा २५३, गौरादह नगरपालिकामा २२० र कन्काई नगरपालिकामा १९६ जनाले मनोनयन दर्ता गराएको नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । त्यस्तै झापाका गाउँपालिका मध्ये सबैभन्दा बढी कमल गाउँपालिकामा १८३ जनाले मनोनयन दर्ता गराएको बताइएको छ ।

कचनकवल गाउँपालिकामा १७९, बुद्धशान्ति गाउँपालिकामा १६९, बाह्रदशी गाउँपालिकामा १७५, गौरीगञ्ज गाउँपालिकामा १७७, झापा गाउँपालिकामा १५६ र सबैभन्दा कम मनोनयन दर्ता भएको हल्दिबारी गाउँपालिकामा १२३ जनाको उम्मेदवारी दर्ता भएका छन् । दर्ता भएका उम्मेदवारउपर कुनै दाबी विरोध भए आज त्यसको निवेदन दिन सकिने र मङ्गलबार त्यसको छानबिन गरी उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत पाण्डेले जानकारीगराएका छन ।