लुम्बिनीलाई ‘मौरीको आहारा पाउने’ थलोका रुपमा विकास गर्ने : प्रम अाेली

रुपन्देही, वैशाख १७ । लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आज २५६२औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित समारोहमा बोल्दै उनले भने यो ठाउँ हेर्दा पनि पवित्र, सुन्दा पनि पवित्र र सुगन्ध पनि पवित्र हुने ठाउँका रुपमा स्थापित गर्न चाहन्छौँ । उनले लुम्बिनी वनलाई सुन्दर र बास्नादार ज्ञानले भरिपूर्ण प्राकृतिक सौन्दर्ययुक्त ‘मौरीको आहारा पाउने’ थलोका रुपमा विकास गर्ने बताएका छन् ।

कमजोरी, खराबी र विकृति हटाउने विषयलाई बुद्धले कहिल्यै स्वीकार नगरेको भन्दै प्रधानमन्त्री ओलीले अहिले पनि बुद्धका विचार सान्दर्भिक, महत्वपूर्ण र कालजयी रहेका उल्लेख गरे । बुद्ध लुम्बिनीमा जन्मेको विषयमा बहस गर्न नपर्ने जनाउँदै उनले बुद्धसँग सम्बन्धित देवदह, तिलौराकोट र रामग्राम क्षेत्रको विकास गर्न सरकार कटिबद्ध रहेको बताए ।

लुम्बिनी तीर्थस्थल, पर्यटकीयस्थल र अध्ययनस्थल मात्रै होइन, ज्ञानभूमि, तपोभूमि, देवभूमि पनि रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीलाई स्थानीय जनतासँग जोड्न नसकेको तथ्य स्वीकार गर्दै बुद्धले मानव जातिको विकासका लागि नयाँ दर्शन प्रतिपादन गरेको बताए ।

बुद्धसँग सम्बन्धित क्षेत्र तिलौराकोट, देवदह, रामग्रामको एकीकृत विकासमा जोड दिँदै उनले बुद्ध जयन्तीलाई प्रदेशको राष्ट्रिय पर्वको रुपमा मनाउन चाहेको विचार व्यक्त गरे । सोही अवसरमा प्रधानमन्त्री ओलीले लुम्बिनी विकास कोषका चार उत्कृष्ट कर्मचारी, दुई अति उत्कृष्ट कर्मचारी र एक सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गरेका थिए ।

उत्कृष्ट कर्मचारीलाई रु १० हजार, अति उत्कृष्ट कर्मचारीलाई रु २० हजार र सर्वोत्कृष्ट कर्मचारीलाई रु ३० हजार नगद प्रदान गरिएको थियो । उक्त समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।