पोषण सुधारका लागि रकम विनियोजन

असार ५ । पोषण संवेदनशील कार्यक्रमका लागि जाजरकोट जिल्लामा रु ९२ लाख रकम विनियोजन गरिएको छ । जिल्लामा आव २०७३/७४ का लागि पोषण तथा खाद्य सुरक्षा कार्यक्रमका लागि नेपाल सरकारबाट सो रकम विनियोजन गरिएको जिल्लास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशिका समितिका अध्यक्ष एवम् स्थानीय जिल्ला विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

यो रकम जिल्ला समन्वय समितिमार्फत पोषण लक्षित शीर्षकमा खर्च गर्न जिल्ला पशुसेवा कार्यालयमा रु १८ लाख, जिल्ला शिक्षा कार्यालयमा रु १४ लाख, खानेपानी तथा सरसफाइ कार्यालयका लागि रु १४ लाख, महिला तथा बालबालिका कार्यालयमा रु १४ लाख, जिल्ला पशुसेवा कार्यालयमा रु १८ लाख र जिल्ला समन्वय समितिमा रु १३ लाख रकम गरी जम्मा रु ९१ लाख रकम विनियोजित गरिएको छ । उक्त रकम मध्ये ५० प्रतिशत रकम यी सम्बन्धित कार्यालयमा भुक्तानी गरिसकेको पण्डितले बताए ।

सुनौला हजार दिनका महिला तथा बालबालिका र किशोर, किशोरीको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले पोषण संवेदनशील कार्यक्रम लागू गरिएको बहुक्षेत्रीय पोषण योजना जाजरकोटका कार्यक्रम संयोजक गगनसिंह ठगुन्नाले बताए । मानव पुँजी र समग्र सामाजिक आर्थिक विकासमा कुपोषणलाई अवरोध नहुने अवस्था सुनिश्चित गर्नलाई उल्लेखनीय रुपमा दीर्घरोग कुपोषण, पुड्कोपना, कमतौल र ख्याउटेपन जाजरकोटबाटै न्यूनीकरण गर्ने कार्यक्रमको लक्ष्य रहेको बताइएको छ । यो कार्यक्रम पोषण, स्वास्थ्य, कृषि र यातायातबाट वञ्चित रहेका (साविक) का नायकवाडा, रामीडाँडा, रोकायगाउँ, दह, कोर्ताङ र गर्खाकोट गरी जम्मा छ वटा गाविसमा लागु गरिएको छ ।