राजु थापा, क्यानडा !
कन्सर्न नेपाल क्यानडाले टोरोन्टोमा २५६२ औ बुद्ध जयन्तिको अवसरमा साेमबार शान्ति र्याली गरि बुद्ध जयन्ति तथा नेपाल प्रवद्र्धन दिवस मनाएको छ । टोरोन्टो शहरको मुख्य आकर्षक स्थान योंग एण्ड डन्डास बाट सुरु भै शहरको बिभिन्न मुख्य मुख्य भाग परिक्रमा गरि पुनः सोही स्थानमा आई समापन भएको थियो ।
भगवान बुद्ध नेपालमा जन्मेका हुन् र उहांको बारेमा बेला बखत चल्ने गरेका भ्रामक गलत प्रचार प्रशारको विरुद्ध बिदेशिहरुलाई जानकारी गराउन र नेपालमा पर्यटन प्रवद्र्धन गराउने उद्धश्य सहित यसको आयोजना गरिएको जानकारी कन्सर्न नेपालले जनाएको छ ।
कार्यक्रममा क्यानडाका लागि नेपाली राजदुत महामहिम काली प्रशाद पोखरेलले भगवान गौतम बुद्ध नेपालमा जन्मेका हुन् र विश्वभरि छरिएको शान्तिको सन्देशलाई नेपाली समूदायको परिचालन गरि अझ बृहत रुपमा लैजानका लागि आजको दिन सान्दर्भिक रहेको बताएका छन् । त्यसैगरि एनआरएनए क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले बुद्ध नेपालमा जन्मेका हुन् भनेर भनिरहनु नपर्ने तर उनका शान्तिका सन्देशलाई बिश्व भरि जताततै फैलाउन र नेपालको बारेमा बिदेशी पर्यटकहरुलाई आकर्षित गर्न आउदा दिनहरुमा नयाँ ढंगबाट अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।
बुद्ध जयन्तिको उपलक्ष्यमा प्रधान मन्त्री के.पि. ओलीले पठाउनु भएको शुभकामना पत्रका बारेमा जानकारी गराइको थियो । साथै कार्यक्रममा कन्सर्न नेपालका तर्फबाट डा. तुल्सी धरेल, चन्द्र राई र गोविन्द सिवाकोटिले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा कन्सुलर जनरल डा.कुन्जर शर्मा, पर्यटन दूत एन बि टन्डन, ग्रेटर टोरोन्टो भित्र रहेका एनआरएनए क्यानडा लगायत बिभिन्न संघ संथाका प्रतिनिधिहरु र नेपाली समूदायका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । स्मरणीय के छ भने, जिटिएमा बसोबास गर्ने नेपालीहरुको संख्याको आधारमा हेर्ने हो भने यो उपस्थिति न्यून हो ।