‘प्रेसलाई मर्यादित बनाउन सञ्चारमाध्यमले अनुगमन गर्नुपर्ने’

काठमाडौँ, वैशाख २० । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज नेपाल पत्रकार महासंघको अगुवाइमा प्रभातफेरी निकालिएको छ ।

बबरमहलदेखि नयाँबानेश्वरसम्म ‘शक्तिको निगरानी– मिडिया, न्याय र विधिको शासन’ भन्ने मूलनाराका साथ प्रभातफेरी निकालिएको हो । संविधानमा प्रेस स्वतन्त्रतालाई प्रस्तावनामा नै लेखिए पनि व्यवहारमा लागू नभएको महासंघका अध्यक्ष गोविन्द आचार्यले बताएका छन् ।

नयाँ कानून बनाउन लाग्दा राज्यले धेरै नै प्रेस स्वतन्त्रता हनन् गर्ने कोसिस गरिरहेकाले त्यस्ता कानून बनाउन लाग्दा सचेत हुनुपर्ने उनले जनाएका छन् । अध्यक्ष आचार्यले प्रेसलाई मर्यादित र जिम्मेवार बनाउनका लागि सञ्चारमाध्यमले आफैँ अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष डा महेन्द्र विष्टले संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्रता उल्लेख गरेपनि कार्यान्वयन गर्न ऐन कानून बन्न नसकेको बताएका छन् । उनले प्रेस स्वतन्त्रताको अवस्था सुधारोन्मुख भएपनि पत्रकारमाथि अझै भौतिक आक्रमणका घटना कम हुन नसकेको बताए ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही नगर्नाले दण्डहीनता मौलाउँदै जान थालेको प्रस्ट पारे । उनले अभिव्यक्ति र प्रेस स्वतन्त्रताको सम्मान अझै पनि सरकारले गर्न नसकेको गुनासो व्यक्त गरे ।

यसैगरी, महासंघ काठमाडौँ शाखाको प्रभातफेरी पनि भृकुटीमण्डपबाट निकालेर माइतीघर, बबरमहल हुँदै नयाँबानेश्वरसम्म पुर्याइएको थियो ।

कार्यक्रमको समापन गर्दै शाखा अध्यक्ष सन्तराम बिडारीले पत्रकारमाथि अहिले पनि भौतिक आक्रमणका घटना घटिरहने भएकाले त्यसलाई रोक्न राज्यले पत्रकारलाई स्वतन्त्र भएर समाचार लेख्ने वातावरण सिर्जन गर्न अनुरोध गरेका छन् । आज मे ३ तारिख विश्वभर नै प्रेस स्वतन्त्रता दिवस मनाइन्छ ।