श्रम ऐनको कार्यान्वयन हुनुपर्नेमा जोड

काठमाडौँ, वैशाख २० । मुलुकमा वाम गठबन्धनको सरकार बनेकाले अब श्रमिकले आफ्नो हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नवनिर्वाचित नेतृत्वले श्रमिकका हकअधिकारका विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले श्रमिकका हकअधिकार स्थापित हुनेमा ढुक्क हुन अनुरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले श्रमिक वर्गकै हकहितमा काम गर्न लागि परिरहेको र अब आन्दोलन गर्न नपर्ने महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताएका छन् ।

श्रेष्ठले आफूहरुले श्रम ऐनको कार्यान्वयन हुनुपर्ने, श्रमिकको तलब वृद्धि हुनुपर्ने, विगतका सहमतिको पालना हुनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएका थिए ।