केसीले गरे पूर्वी रुकुमको सफल अधिवेशन

रुकुमकोट, बैशाख २० । जिल्ला टुक्रिएपछि नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन भएको छ ।

बुधबार आयोजित विद्यार्थीहरुको जिल्ला भेलाले सुमन बुढाको अध्यक्षतामा ४७ सदस्यीय तदर्थ समिति गठन भएको जनाइएको छ । उक्त समितिको उपाध्यक्षमा धनबहादुर खड्का र बसम मल्ल, सचिव भरिलाल खड्का, सहसचिव प्रभा बस्नेत र कोषाध्यक्षमा नन्दकुमारी बुढा चयन भएको जानकारी गराइएको छ ।

नेविसंघ केन्द्रले समिति गठनको लागि केन्द्रीय सदस्य तारकप्रतिभा केसीलाई प्रतिनिधिको रुपमा खटाएको थियो । केसीले केन्द्रले दिएको जिम्मेवारी अनुसार तदर्थ समिति गठन गरेका हुन् । विद्यार्थीहरुको जिल्ला भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य केसीले जिल्लामा रहेका बिद्यालयमा आफ्नो संगठन निर्माण गर्न निर्देशन दिएका छन् ।

विद्यार्थी आन्दोलमा नेविसंघले खेलेको भूमिकाको बारेमा चर्चा गर्दै उनले समय अनुसार चल्न विद्यार्थीहरुलाई अनुरोध गरेका छन् । समय अनुसार आन्दोलन र त्यसका मुद्दाहरु बदलिएकाले सोही अनुरुप संगठनलाई बलियो बनाउनको लागि अघि बढाउनु पर्ने उनको जोड छ । नेपाली विद्यार्थीको हक हित र रक्षाको लागि आफ्नो संगठनले स्थापनाकाल देखिनै संघर्ष गरिरहेको उनको दाबी छ ।

प्रशान्त शाहीको अध्यक्षतामा आयोजित सो विद्यार्थी भेला कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सचिव भिमबहादुर खड्का, महाधिवेशन प्रतिनिधि लक्षिराम घर्ती, नेपाल महिला संघकी सभापति सरीता विसी, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष रमेश शर्मा लगायतको उपस्थिति रहेको थियो ।