घुम्ती शिविरको सेवाबाट जनताले लिए लाभ

उदयपुर, वैशाख २४ । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रमा संचालित दुइ दिने शिविर सम्पन्न भएको छ ।

लिङचुङबुङ गाउँपालिका लगायतका जनतालाई लक्ष्यीत गरेर सञ्चालन गरिएको उक्त घुम्ती शिविर आइतबार सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय उदयपुर र लिङचुङबुङ गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको सो दुईदिने शिविरमा नागरिकता प्रमाणपत्र वितरण, स्वास्थ्य चेकजाँच, पशुसेवा, मल बीउबिजन वितरणसहितका सेवा उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत कुमार खड्काले जानकारी गराए ।

जिल्ला प्रशासन कार्यालयको टोलीले उक्त भेगका झण्डै ३१० जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ भने जिल्ला निर्वाचन कार्यालय उदयपुरले २५१ जनाको फोटोसहितको मतदाता नामावली सूची तयार गरिएको सोही गाउँपालिकाका अध्यक्ष मेजर राईले बताए ।

यस्तै जिल्ला कृषि विकास कार्यालयका टोलीले ९५ जना कृषकलाई आधुनिक प्रजातिका बीउबिजन वितरण गुर्नका साथ साथै महिला तथा बालबालिका कार्यालयले १८ जना अपाङ्गता भएकालाई परिचयपत्र दिने सिफारिस गरेको छ ।

यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयका टिमले २१० जनाको स्वास्थ्य चेकजाँच र केहीको उपचारसमेत गरेको टोलीका प्रमुख तथा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत खड्काले जनाए ।

उक्त घुम्ती शिविरमा जाँते, बलाम्ता, बराह, बाँसबोटे, ताम्लिछा, इनामेलगायतका ग्रामीण भेगका जनताले सेवा लिएका थिए ।

ग्रामीण भेगका जनताले सरकारी सेवा प्राप्त गर्न कुनै कठिनाइ नहोस् भनेर प्रशासन र गाउँपालिकाको संयुक्त टोलीले गाउँमा नै सेवा उपलब्ध गराएको उदयपुरका प्रमूख जिल्ला अधिकारी विष्णु कार्कीले जानकारी गराए ।