बुटवल, वैशाख २४ । प्रदेशसभासद्को पहिचान बोकेको प्रदेश चिह्न (लोगो) आज सार्वजनिक भएको छ ।
प्रदेश नं ५ का प्रदेशसभासद्हरुको पहिचान खुलाउने लोगो प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले आज आयोजित एक कार्यक्रमका बीच सो लोगो सार्वजनिक गरेका हुन् ।
उक्त लोगो बनाउन २०७४ फागुन २४ गते सार्वजनिक सञ्चारमाध्यममार्फत नमूना आह्वान गरिएकामा १२ जनाले सहभागिता जनाएका थिए । सहभागीमध्ये दाङका खगेश्वर भण्डारीले तयार पारेको नमूना छनोट गरिएको हो ।
लोगोमा प्रदेश नं ५ को हिमाली क्षेत्र सिस्ने हिमाल, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, धान र जौका बालाका साथै लैङ्गिक समानता झल्किन्छ । प्रदेशसभा सचिवालयले आयोजना गरेको उक्त कार्यक्रममा सो लोगोसहित प्रदेशसभा कर्मचारीको लोगो, प्रदेशसभा नियमावली तथा प्रदेशसभा सदस्यहरुको विवरणसहितको पुस्तक, प्रदेशसभाको आधिकारिक वेबसाइटसमेत सार्वजनिक गरिएको छ ।
त्यस अवसरमा प्रदेशसभाको लोगो निर्माणकर्ता भण्डारीलाई उपसभामुख कृष्णी चौधरीले सम्मान गरे । प्रदेशसभा सञ्चालनका तथा व्यवस्थापनका लागि प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको प्रदेशसभा नियमावली २०७४ सहित प्रदेशसभाका विविध विषय समेटिएको पुस्तक सार्वजनिक गरिएको थियो ।
सभामुख घर्तीले प्रदेशसभाको पहिचान झल्काउन लोगो महत्वपूर्ण भएको र यसले प्रदेशका महत्वपूर्ण क्षेत्रलाई झल्काउने बताए ।
यस्तै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा छोटो समयमा यो महत्वपूर्ण र ऐतिहासिक काम भएको जनाएका छन् ।