महिला हिंसा अन्त्यका लागि विशेष संयन्त्र बनाउनुपर्ने : मन्त्री थापा

काठमाडौँ, वैशाख २४ । महिलामाथि हुने हिंसा अन्त्य गर्नका लािग स्थानीय तहले विशेष संयन्त्र बनाएर अगाडि बढ्नुपर्ने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले बताएकी छिन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको ‘राष्ट्रिपति महिला उत्थान’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले स्थानीय तहका जनप्रतिनिधि सचेत नभएसम्म हिंसाका घटना कम हुन नसक्ने बताएकी हुन् ।

मन्त्री थापाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारले यस्ता घटना नियमित भइरहेका स्थानमा सुरक्षा समिति बनाउनुपर्नेे र स्थानीयवासीका लागि पनि सोही अनुरुप जनचेतना जगाउने खालका कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याइन् । महिला, बालबालिका र विशेष अवस्थाका महिलामाथि बलात्कार हुँदा अपराधीलाई मृत्युदण्ड नभई आजीवन कारागारको सजाय दिन सोही अनुरुप कानून निर्माणको प्रक्रिया शुरु भएको उनको भनाइ छ ।

बालबालिका मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले सबैजनाले आ–आफ्नो स्थानबाट हिंसा न्यूनीकरणका लागि प्रयास गर्ने हो भने यसका लागि छुट्टै कार्यक्रमको आवश्यकता नपर्ने बताइन् ।

जिल्ला समन्वय समितिका अध्यक्ष श्याम सुन्दरराज वैद्यले देशले राजनीतिक रुपमा फड्को मारे पनि पितृ सत्ताका कारण महिलामाथि हुने हिंसामा कमी आउन नसकेको जानकारी दिइन् ।

भोलिसम्म सञ्चालन हुने सो कार्यक्रम निशा बानियाँले ‘लैङ्गिक हिंसा निवारणमा स्थानीय तहको भूमिका’, पेम्मा लामाले ‘लैङ्गिक समानताको अवधारणा’ र महिला बालबालिका विभागका प्रतिनिधिले ‘लैङ्गिक हिंसा निवारणमा सरकारको प्रयास’ का विषयमा कार्यपत्र प्रस्तुत गर्नेछिन् ।