पत्रकारको तलब बैंक खाताबाट दिने व्यवस्था गरिने : राज्यमन्त्री

काठमाडौँ, वैशाख २४ । सम्पूर्ण श्रमजीवी पत्रकारको तलब बैंक खाताबाट मात्र दिने व्यवस्था गरिने सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको प्रदेश नं ३ ले नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनबाट विजयी भएकाहरुलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा बोल्दै उनले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन र सञ्चार क्षेत्रको पारदर्शिताका लागि सरकारले आउँदो नीति तथा कार्यक्रममा त्यस्तो व्यवस्था गर्ने जनाएका हुन् ।

पत्रकारलाई खाममा तलब दिने प्रथा अबदेखि बन्द गराउन लागेका छौँ राज्यमन्त्री बाँस्कोटाले भने । उनले मुलुकको समृद्धि र सुशासन भएमा पत्रकारिता क्षेत्र पनि समृद्ध हुने तथा साना लगानीका पत्रिकाले पनि सहज रुपमा विज्ञापन पाउने भन्दै विज्ञापन प्राधिकरण गठन गरी यस क्षेत्रलाई व्यवस्थित गरिने जनाउँदै सञ्चार क्षेत्रले आलोचनात्मक चेतनाका साथ भ्रष्टाचार र दलालीकरणलाई उजागर गर्नुपर्नेमा जोड दिए ।

चौतारीका अध्यक्ष गणेश बस्नेतले सरकारको सुशासन र समृद्धिका कार्यक्रममा सञ्चार माध्यमले मद्दत गर्नुपर्ने बताए । प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापा, लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडीले पत्रकार महासंघमा सहमति र निर्वाचनका माध्यममा प्रदेश संरचना बनेको खुशी व्यक्त गरे ।

कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले महासंघको नवनिर्वाचित उपत्यका प्रदेशका अध्यक्ष एनके दाहाल, प्रतिष्ठान प्रदेशका अध्यक्ष शेखर अधिकारी, एशोसिएट प्रदेशका अध्यक्ष केपी ढुंगानालगायत पदाधिकारीलाई बधाई र शुभकामना प्रदान गरेका थिए ।

महासंघको प्रदेश निर्वाचन यही वैशाख २२ गते सम्पन्न भएको थियो ।