कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सम्पन्न

सुर्खेत, वैशाख २५ । वैशाख १३ देखि २४ गतेसम्म जुम्लामा सञ्चालित प्रादेशिक स्तरको कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सम्पन्न भएको छ ।

उद्योग वाणिज्य संघ जुम्लाद्वारा आयोजित उक्त महोत्सवको समापन समारोहमा बोल्दै प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले महोत्सवले कृषि, जल, जडीबुटी, पर्यटकीय सम्भावना, पुरातात्विक तथा ऐतिहासिक खस सभ्यता र भाषाशैलीको पहिचान दिन सफल भएको बताएका छन् ।

महोत्सव ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ सफल पार्ने आधार बनेको उनले जनाएका छन् । महोत्सवबाट कर्णालीको धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनका साथै स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुगेको उनको भनाइ छ । पूर्व पशुपंक्षी राज्यमन्त्री गोमा कुँवरले भावी दिनमा जुम्लालाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गरिनुपर्ने बताए ।

महोत्सवबाट सोचेभन्दा बढी उपलब्धि हासिल भएको चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपाने (महत)को भनाइ छ । तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले सबै गाउँपालिकाको कला संस्कृतिलाई उजागर गर्न महोत्सवले मद्दत पुर्याएको प्रतिक्रिया जनाए ।

महोत्सव आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले महोत्सवले यहाँको खस सभ्यता, पहिरन, खाना परिकार, पर्यटकीय सम्भावना प्रवद्र्धनमा अधिकतम सहयोग पुगेको बताए ।

एक लाख नागरिकले महोत्सवको अवलोकन गर्नाका साथै रु एक करोड ६० लाख कारोवार भएको रावलले जानकारी गराएका छन् ।