विवादपछि रोकियो नेविसंघको प्रशिक्षण, बनिसकेको मञ्च रित्तै

सुन्दरीजल, वैशाख २६ । नेपाल विद्यार्थी संघभित्रको विवाद चर्कदै जाँदा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल जाने तय भएको कार्यक्रम नै स्थगित भएको छ । अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दन काफ्लेबिच बढ्दै गएको विवादका कारण कार्यक्रम स्थगित भएको हो । एउटै समयमा दुवै पक्षले एकै स्थानमा कार्यक्रमका लागि मञ्च समेत तयार गरिसकेका थिए । कार्यक्रम गर्दा मुठभेडको सम्भावना रहेपछि सभापति देउवा र नेता पौडेल जाने कार्यक्रम नै स्थगन हुन पुग्यो ।

कांग्रेसका स्थानीय नेताहरुले कि एकै ठाउँमा कार्यक्रम गर्न नभए कार्यक्रम नगर्न दबाब दिएका थिए । विहानैदेखि सुन्दरीजल क्षेत्रमा माइक नबजोस् भनेर लाइन समेत काट्न लगाइएको थियो । कार्यक्रमस्थलमा पुगेका संघका केन्द्रीय सदस्य रघु कार्कीले विहानका लागि तय भएको कार्यक्रम मध्यान्हसम्म पनि शुरु नभएको जानकारी दिए ।

१२औं महाधिवेशनका लागि विधान एवं नियमावली सम्बन्धमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम महामन्त्री काफ्ले समुहले राखेको थियो । तर, त्यसअघि नै अध्यक्ष महर निकटहरुले ४९औं स्थापना दिवसको अवसर पारेर देशभरका स्ववियु सभापतिहरुका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेका थिए । शहिद आदर्श क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन र नेविसंघ केन्द्रीय समिति सो कार्यक्रमको आयोजक रहेको थियो । त्यसलाई प्रभावित गर्ने गरि महामन्त्री समुहले अलग कार्यक्रम तय गरेको थियो ।

विद्यार्थी भन्दा प्रहरीको लर्को

नेविसंघभित्र अराजक समुहबाट जे पनि हुनसक्ने भन्दै सुन्दरीजल क्षेत्रमा प्रहरी निगरानी बढाइएको छ । अध्यक्ष महर र महामन्त्री काफ्ले समुह एकअर्काविरुद्ध जाइलाग्न सक्ने भन्र्दै स्थानीय नेताहरुले प्रहरीको संख्या बढाउन आग्रह गरेको बुझिएको छ । अहिले सुन्दरीजलमा विद्यार्थीहरुभन्दा बढी प्रहरी कार्यक्रम स्थलमा देखिएका छन् ।

दुवै पक्षबाट आउने भनिएका नेताहरु कार्यक्रमस्थल पुगेका छैनन् । स्रोतका अनुसार उनीहरु कार्यक्रममा नजाने मनस्थितीमा पुगेका छन् ।