अपांगहरुको मानवअधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन शुरु

काठमाडौं, वैशाख २७ । शारीरिक अपांगता भएका व्यक्तिहरुको मानवअधिकारसम्बन्धी आजबाट दुईदिने राष्ट्रिय सम्मेलन शुरु भएको छ ।

राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय अपांग महासंघले संयुक्त रुपमा आयोजना गरेको उक्त सम्मेलनमा सातै प्रदेशका अपांगता भएका व्यक्तिहरुले सहभागिता जनाएका छन् ।

सम्मेलनमा अपांगता भएका व्यक्तिहरुको वर्तमान अवस्था, चुनौती र सुझाव, अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी नेपाल सरकारको नीति तथा कार्यक्रम, अपांगता भएका व्यक्तिहरुको मानवअधिकार कार्यान्वयनका चुनौतीलगायतका विषयमा अलग अलग छुट्टाछुट्टै कार्यपत्र पेश भई छलफल हुनेछ ।

साथै, संयुक्त राष्ट्रसंघीय अपांगतासम्बन्धी समितिमा नेपाल प्रतिवेदन र प्राप्त सुझावका विषयमा पनि छलफल भई काठमाडौँ घोषणापत्र जारी हुने बताइएको छ । उक्त सम्मेलनको उद्घाटन राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गरेका थिए ।

२३ जनालाई ह्विल चियर वितरण

झापाको दमकमा बुधबार एक कार्यक्रमका बीच शारीरिक अपांगता भएका २३ जनालाई ह्विल चियर र ट्राइसाइकल वितरण गरिएको छ ।

राष्ट्रिय अपांग पुनःस्थापना समाजले दमक अपांग सहयोग समितिको संयोजनमा उक्त ह्विलचियर निःशुल्क उपलब्ध गराएको हो ।

दमक अपांग सहयोग समितिकी उपाध्यक्ष मनमाया तिम्सिनाको अध्यक्षता तथा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय अपांग महासंघका केन्द्रीय सदस्य सुगम भट्टराईले विभिन्न दातृसंस्थाको सहयोगमा ह्विलचियर तथा ट्राइसाइकल उपलब्ध गराइएको बताए ।

कार्यक्रममा दमक रेडक्रस सभापति प्रकाश बुढाथोकी, दमक जेसीजका अध्यक्ष चन्द्र खत्री, मेची सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईलगायतले अपांगताको विषयमा बोलेका थिए ।