विज्ञ समूह गठन

काठमाडौँ, वैशाख २७ । सरकारले समग्र पर्यटन क्षेत्रको सुधारको कार्ययोजना सहितका रणनीतिक महत्वका विषयवस्तुमा सुझाव दिन ३५ सदस्यीय पर्यटन क्षेत्रका विज्ञ (थिङ ट्याङ्क ग्रुप) समूह गठन गरेको छ ।

पर्यटन क्षेत्रको विकासमा विभिन्न क्षेत्रमा आबद्ध भई विज्ञता हासिल गरेका व्यक्तिको ज्ञान, सीप, दक्षता र अनुभव उपयोग गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त समूह गठन गरेको हो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा रहने सो समूहमा मन्त्रालयका सचिव तथा पर्यटन सम्बद्ध सहसचिवहरु पनि रहनेछन् ।

विज्ञ समूहले पर्यटन क्षेत्रको विषयगत सुधारका विषयमा केन्द्रित भएर राय सुझाव दिने मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए । उनले पर्यटन क्षेत्रमा गरिनुपर्ने कामको प्राथमिकीकरण निर्धारण गरी त्यस अनुसारको योजना र कार्यक्रम बनाउन एक÷दुई दिनभित्रै विज्ञ समूहको बैठक बस्ने जनाएका छन् ।

सो समुहले नेपालको पर्यटन क्षेत्र सुधारका लागि आवश्यकता अनुसार सुझाव दिनेछ । विज्ञ समूहले पर्यटन मन्त्रीलाई पर्यटन क्षेत्रमा गर्नुपर्ने सुधारका लागि राय/परामर्श दिनेछ भने सरकारबाट समय समयमा गठन हुने विभिन्न कार्यदलमा विज्ञहरुका रुपमा सेवा प्रदान गर्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञ समूहमा मनोनयन भएका सदस्यहरुमा अर्जुन शर्मा, अनिल चित्रकार, कुन्दनमणि दीक्षित, डा गंगाप्रसाद अकेला, चन्द्रप्रसाद ढकाल, छाया शर्मा, छेवाङ लामा, ज्योति अधिकारी, दीपेन्द्रपुरुष ढकाल, प्रदीपराज पाण्डे, प्रचण्डमान श्रेष्ठ, वसन्त मित्र, वासु त्रिपाठी, विजय अमात्य र मदन आचार्य छन् ।

त्यसैगरी, महेन्द्रसिंह थापा, याङ्किला शेर्पा, योगेन्द्र शाक्य, रविजंग पाण्डे, राज ज्ञवाली, रोशन थापा, लाक्पासोनाम शेर्पा, शिव ढकाल, सञ्जय चौधरी, सिर्जना राणा, सुमन पाण्डे, सुरेशमान श्रेष्ठ, सुनिल शाक्य, सुबोध राणा, तेजबहादुर ढकाल, सीताराम सापकोटा रहेका छन् ।

संस्थागततर्फ ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), होटल एशोसिएसन अफ नेपाल (हान), नेपाल पर्वतारोहण संघ र प्यासिफिक एशिया ट्राभल एशोसिएसन, पाटा नेपाल च्याप्टरका अध्यक्षहरु विज्ञ समितिमा रहने मन्त्रालयले बताएको छ ।

काभ्रेपलाञ्चोकमा विमानस्थल बनाउनका लागि उपयुक्त स्थान छनोट गर्न सरकारले इन्जिनियर कमलकुमार केसीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप नियन्त्रण गर्न काभ्रेमा वैकल्पिक आन्तरिक विमानस्थल बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले केहीदिनअघि उक्त समिति गठन गरेका हुन् । समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशकद्वय वदास भोछिभोया र बाबुराम पौड्याल, उपनिर्देशकहरु सुवर्ण उपाध्याय र सीताराम भण्डारी रहेका छन् ।

समितिको सदस्य सचिवमा प्राधिकरणकै नलविक्रम थापा रहेका छन् । मन्त्री अधिकारीले हालै बनेपा नगरपालिकाको नागीडाँडा, धुलीखेल नगरपालिकाको चिसापानी ठूलीचौर र देवीस्थान ठूलीचौरकोे स्थलगत भ्रमणका क्रममा उपयुक्त विकल्पसहितको सुझाव दिन समिति गठन गर्ने जनाएका थिए ।

सो समितिलाई ती तीन ठाउँ वा अन्य उपयुक्त ठाउँको अध्ययन गरी १५ दिनभित्र सुझाव पेश गर्नुपर्ने जिम्मेवारी दिइएको मन्त्रालयले बताएको छ ।