गाउँको विकास भए मात्र देशको विकास सम्भव : सभामुख थापा

बझाङ, वैशाख २७ । आफ्नो प्रदेशलाई देशकै नमूना बनाउने गृहजिल्ला बझाङ पुगेका प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले बताएका छन् ।

नेपाल पत्रकार महासंघ बझाङ शाखाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सभामुख थापाले जनतामुखी बजेट ल्याइने जानकारी गराएका छन् । गाउँको विकास भए मात्र देशको विकास सम्भव हुने उनको भनाइ छ ।

हिजो सिहंदरबारको मुख ताकेर बसेका जनतालाई अहिले गाउँगाउँमा अधिकार दिइएको छ । विकास अल्पकालीन हैन दीर्घकालीन हुनुपर्छ उनले भने जेठको पहिलो साता बजेट अधिवेशन हुँदैछ, पश्चिम सेती, अपर सेतीलगायत युवालाई आत्मानिर्भर हुने खालका योजना ल्याउन पहल गर्नेछु ।

बझाङको विकासका लागि ग्रामीण भेगमा बनेका सडकको स्तरोन्नति, केन्द्रीय प्रसारणलाइन जोड्ने चैनपुर ताक्लोकोट सडकखण्डको सुरुङमार्ग हिउँ जम्ने ठाउँमा निर्माण गर्ने र सदरमुकाम चैनपुरलाई नमूना सदरमुकाम बनाउन बजेट विनियोजन गर्ने उनले बताएका छन् ।

साइपाल गाउँपालिकाबाट हुने जडीबुटीको अवैध चोरी–निकासी रोक्न स्थानीय सरकारले पहल गर्नुपर्नेमा थापाको जोड छ । विकासका लागि तेरो मेरो हैन हामी सबैको हो भन्ने भावना सबैमा जाग्नु आवश्यक रहेको उनले बताएका छन् ।