जाजरकोट, वैशाख २७ । मजदुर अभावले विकास निर्माणका प्रभावित बनेका छन् । काम गर्ने मजदुरको अभाव हुन थालेपछि विकासका काम प्रभावित बनेका हुन् ।
यहाँका सातै वटा स्थानीय तहमा विकास निर्माणका लागि मजदुरको अभाव भएको छ । अधिकांश युवा कमाई गर्न भारत तथा डोल्पामा यार्सागुम्बा संकलनका लागि जान थालेपछि विकास निर्माणको काममा समस्या उत्पन्न हुन थालेको छ । अहिले जिल्लाका सबै स्थानीय तहमा विकासे बजेटको काम भइरहेको छ ।
उपभोक्ता समितिका पदाधिकारी मजदुर नभएर हैरान भएको बताउन थालेका छन् । जिल्लाको विकास निर्माणका कामका लागि बाहिरबाट मजदुर ल्याएर काम गर्न बाध्य हुनु परेको नलगाड हाइड्रोपावर कम्पनीले बताएको छ । एउटै वडामा करोडभन्दा बढीको विकास निर्माणको काम भइरहेको छ ।
काम पाएनौँ भन्दै स्थानीय बासिन्दा बाहिर जिल्लामा गएर काम गरिरहेको पाइएको छ । ज्याला कम भएका कारण जिल्लाभित्र काम गर्न नसकेको बारेकोट–६ का लालबहादुर कामीले बताएका छन् ।
सल्लीबजारदेखि जाजरकोटसम्मको सडकमा पुल निर्माणको काम भइरहेको छ । त्यहाँ काम गर्ने सबै मजदुर बाहिर जिल्लाबाट आएका छन् ।
नलगाड हाइड्रोपावर कम्पनी र स्थानीय तहको विकास निर्माणमा जिल्ला बाहिरका कामदारले मजदुरी गर्दै आएका छन् ।