नेपाल–भारत सीमास्तम्भ निर्माण

धनगढी, वैशाख २८ । कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रम्ह्देव सम्मका १०१ वटा सीमास्तम्भको नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले मर्मत गरेको छ ।

संयुक्त सीमा सर्भे टोलीमा नेपालका तर्फबाट नेतृत्व गरेका नापी विभागका प्रमुख नापी अधिकृत सुर्दशनसिंह धामीले यो क्षेत्रका थप ३१ वटा सीमास्तम्भ निर्माण गरिएको बताए । यो सीमा क्षेत्रमा पर्ने ६५९ वटा सीमा स्तम्भको रेकी कार्य गरी निर्माण र मर्मत सम्पन्न गरिएको ४ नं सीमा सर्भे टोलीका प्रमुख धामीले जनाए ।

कैलाली जिल्लाको शुरुवातको विन्दु खक्रौलास्थित ७०० नम्बरको सीमास्तम्भदेखि कञ्चनपुरको ब्रम्ह्देव नजिकको सीमाको ८११ नम्बर सम्मका सीमास्तम्भको अवस्था, भत्के बिग्रेका फेला पारेको पाइएमा सो को निर्माण गर्ने अधिकार सर्भे टोलीलाई दिइएको थियो ।

कैलाली जिल्लाको भजनी नजिकको मारियाघाट र धनगढी उपमहानगरको फूलबारी सीमा क्षेत्रमा स्थानीयवासी बासिन्दाले आफ्नो भोगचलनको जग्गामा सीमा स्तम्भ निर्माण गर्न नदिने भन्दै विवाद गरेपछि यी दुबै ठाउँमा निर्माण हुनुपर्ने सातवटा सीमास्तम्भको निर्माण हुन नसकेको बताइएको छ ।

विवादित क्षेत्रका सीमा स्तम्भको बारेमा भने टोलीले आ–आफ्नो देशको माथिल्लो निकायमा जानकारी गराएको जानकारी गराइएको छ । नेपालका तर्फवाट नापी विभागको प्रमुख नापी अधिकृत धामी र भारतको तर्फबाट देहरादुन नापी कार्यालयका प्रमुख आरसि भट्टको नेतृत्वको टोलीले गएको मंसिरदेखि भारतसँग सीमा जोडिएको कैलालीको पूर्वी खक्रौला सीमा नाकादेखि कञ्चनपुरको पुरानो सीमा बजार ब्रम्ह्देव नाकासम्मका सीमास्तम्भको रेकी कार्य गरी निर्माण र मर्मत गरेको हो ।

‘दुबै देशको टोलीले संयुक्त रुपमा सर्भेको काम गरेको हो धामीले भने– मारियाघाट र फूलबारी बाहेकका क्षेत्रमा सीमास्तम्भको निर्माण मर्मतमा दुबै देशका नागरिकबाट सहयोग मिलेको थियो । यस टोललाई ७ नं प्रदेशका कैलाली र कञ्चनपुरबाहेक, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लामा पर्ने नेपाल–भारत सीमास्तम्भको पनि सर्भेसम्बन्धी काम गर्ने अधिकार दिइएको छ ।

यसैबीच आज भएको दुबै देशका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी र सीमा सर्भे टोलीका प्रमुखको संयुक्त बैठकमा सीमा सर्भेसम्बन्धी कार्य प्रगतिको समीक्षा गरिएको छ । बैठकमा सीमा क्षेत्रमा देखिने विवादको समाधान आपसी समझदारीबाट खोजिनु पर्नेमा दुबै देशका अधिकारी सहमत भएको बैठकपछि कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

बैठकमा सीमा सर्भे कार्यलाई आगामी दिनमा प्रभावकारी बनाएर लैजान दुबै पक्ष एकमत भएको प्रजिअ तिवारीले जानकारी गराए ।

बैठकमा नेपालको तर्फबाट कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र भारतको तर्फबाट खिरी, पिलिभित, चम्पावत् र उदमसिंनगर जिल्लाका डिष्ट्रिक मजिष्टेड(डिएम), प्रहरी अधिकारीलगायतको सहभागीता रहेको थियो ।