नेपालको पहिचान कला, संस्कृति र कलाकार : मन्त्री श्रेष्ठ

काठमाडौँ, ५ असार । नेपाल सरकारका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले मानव ज्ञान, विवेकको सिर्जना गर्न र समाजमा शिक्षाको उज्यालो फैलाउन कलाकारकोहरुको विशेष भूमिका रहने बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित सातौँ राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले कलाकारको हरेक सिर्जनाले समाजमा रहेका मानव जातिमा सूचनात्मक सन्देश प्रवाह गर्न ठुलो योगदान पुग्ने बताएका छन् । मौलिक नेपाली कलाकृतिले अन्तर्राष्ट्रिय स्तरमा समेत देशको प्रतिष्ठा बढाउन ठूलो योगदान पुर्याउँदै आएको कुरा स्मरण गर्दै कला संस्कृतिलाई बचाउनका लागि सबै एक हुनुपर्ने मन्त्री श्रेष्ठले बताएका छन् ।

प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले स्वदेशी कलाकारका कलाकृतिलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्वन गर्न आफ्नो संस्था सदैव क्रियाशील रहँदै आएको बताएकी छिन् । कार्यक्रममा कलाकारिता क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विशेष व्यक्तिहरुलाई सम्मान गरिएको थियो । अरनिको राष्ट्रिय लालितकला प्रज्ञा सम्मानबाट दुर्गा बराल र रवीन्द्र ज्यापू पुरस्कृत भएका छन् । पुरस्कारको जनही राशि रु एक लाख र सम्मानपत्र रहेको छ । त्यस्तै, राष्ट्रिय ललितकला पुरस्कार अन्तर्गत आधुनिकतर्फ कृष्ण लामा, कार्टुनमा रवीन्द्र मानन्धर, परम्परागत चित्रकलातर्फ समुन्द्र सिंह श्रेष्ठ, आधुनिक मूर्तिकलामा दिलन मर्हजन, लोककलातर्फ कमला सुतिहार तथा हस्तकलामा डिल्लीराज शाक्य, पुरस्कृत भएका छन् । पुरस्कृत व्यक्तिहरुले जनही रु ६० हजार प्राप्त गरेका हुन् ।

विशेष पुरस्कार अन्तर्गत परम्परागत चित्रकला, आधुनिक चित्रकला, मूर्तिकलामा विशेष योगदान पुर्याउने रमेश शाक्य, देवेन्द्र गुरुङ, कृष्णगोपाल गारु, रेमनी मण्डल, हरि महर्जन कञ्चन तामाङ लगायतका व्यक्तिहरु सम्मानित भएका छन् । उनीहरुले पनि जनही रु २५ हजार प्राप्त गरेका थिए । आजदेखि सुरु भएको उक्त चित्रकला प्रदर्शनी यही असार २० गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।