मोदीको विरोधमा प्रदर्शन गर्ने आठ जना पक्राउ

काठमाडौं, बैशाख ३० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा प्रदर्शन गर्ने विवेकशील साझाका चन्द्रागिरि वडा १ संयोजक र एक सञ्चारकर्मी सहित आठ पक्राउ परेका छन् ।

मोदीको भ्रमणको विरोधमा ब्यानर र कालो झण्डा सहित विवेकशील साझाका नेता कार्यकर्ताले दहचोकको सृजना चोकमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा संलग्न विवेकशील चन्द्रागिरि नगरपालिका वडा नम्बर १ संयोजक पवन गिरी , उपसंयोजक विनय थापा, सचिव अमृत गिरी सहित ८ जना पक्राउ परेका हुन् ।

सृजना चोकमा भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गर्नुका साथै ब्यानर खोसेको थियो । पक्राउ परेका चन्द्रागिरि वडा नम्बर १ को विवेकशिल साझा पाटीका सचिव अमृत गिरीले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेर सरकारले निरंकुश चरित्र देखाएको बताएका छन् ।

समाचार सम्प्रेषण गर्दै गर्दा सञ्चारकर्मी रोसनदानीलाई समेत महानगरीय प्रहरी प्रभाग वलम्वुले नियन्त्रणमा लिएको थियो ।