काठमाडौं, बैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै चीन भ्रमणमा जाने तयारीमा रहेको बताएका छन् ।
संसदलाई आइतबार विशेष सम्बोधन गर्दै उनले सायद म छिट्टै चीन भ्रमणमा जानेछु भने । संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोदीको भ्रमणबारे जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
उनले आफूले समानताको आधारमा कूटनीतिक सम्बन्ध कायम राख्ने प्रयास गरेको बताए । जसअन्तर्गत चीन भ्रमणको तयारीमा लागेको उनले जानकारी गराए । प्रधानमन्त्री मोदी शुक्रबार र शनिबार नेपालको भ्रमण गरी स्वदेश फर्किएका छन् ।
दुई दिने राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन समेत गरिएको थियो । यस्तै, दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्याससमेत गरेका थिए ।
नेपालमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रमुख राजनीतिक दल लगायतका नेतासँग भेटवार्ता गरे ।
मोदीले ‘धार्मिक तथा सांस्कृतिक भ्रमण’को संज्ञा दिइएको यस भ्रमणका क्रममा पशुपतिनाथ, जानकी मन्दिर तथा मुक्तिनाथमा विशेष पूजा–अर्चनासमेत गरेका थिए ।