नेपाल प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमीबीच साहित्यिक सहकार्य

काठमाडौं, बैशाख ३१ । नेपाल प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमी अफ लेटर्सबीच साहित्यिक सहकार्य गर्ने सम्बन्धमा हिजो सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई अझै बलियो पार्दै दुवै देशको साहित्यिक विकासमार्फत दुई मुलुकका जनताबीचको सम्पर्क एवं समझदारी विस्तारका लागि प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र पाकिस्तान एकेडेमीका महानिर्देशक रासीद हमिदले समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारी अनुसार अब दुवै देशले आ–आफ्ना देशका कानुन तथा अन्तर्राष्ट्रिय नियमको परिपालना गर्दै एक अर्काका मुलुकका लेखक, कवि, समाजशास्त्री र अध्येतालाई एक अर्काका राष्ट्रको भ्रमणको व्यवस्था, दुवै प्रतिष्ठानबाट एकअर्काका देशमा पुस्तक प्रदर्शनी, संयुक्त सम्मेलन र गोष्ठी आयोजना गरिने छ ।

त्यसैगरी दुवै देशले एक अर्को देशका भाषामा लेखिएका साहित्यको अनुवादको व्यवस्था मिलाउने, प्रमुख लेखकका कृति प्रकाशन गर्ने तथा लेखक, कविको प्रशिक्षणको व्यवस्थालाई पारस्परिक रुपमा प्रोत्साहन गर्नेछन् ।

त्यस अवसरमा महानिर्देशक हमिदले नेपाल र पाकिस्तानका जनतालाई भाषिक एवं साहित्यिक रुपमा एकाकार गराउन तथा दुई मुलुकका स्रष्टाबीचको सम्बन्ध विस्तार तथा प्रगाढ पार्नका निम्ति प्रज्ञा–प्रतिष्ठानसँग समझदारी गरिएको बताए ।

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले तक्षशिला र लुम्बिनीका बौद्धचैत्य, गुम्बा, अशोकस्तम्भ र मस्जिदले नेपाल र पाकिस्तानबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो हो भन्ने पुष्टि हुन्छ भन्दै त्यसमा अनुसन्धान–अन्वेषण गर्न चाहने नेपालीलाई आर्थिक एवं भौतिक सहयोग गर्न आफू तयार रहेको प्रस्ट पारे ।

कुलपति उप्रेतीले नेपाली भाषा, साहित्य र संस्कृतिको सम्बद्र्धनमा प्रतिष्ठान निरन्तर क्रियाशील रहेको जनाएका छन् । उपकुलपति डा. विष्णुविभू घिमिरेले प्रज्ञा–प्रतिष्ठान र पाकिस्तानी एकेडेमीबीचको समझदारीले दुवै देशका स्रष्टाबीच छलफल र संवाद गर्न मार्गप्रशस्त भएको बताए ।

सम्झौतापत्रमा हस्ताक्षर भएपछि प्रा.डा. त्रिरत्न मानन्धरको अध्यक्षतामा सम्पन्न भएको दोस्रो सत्रको कार्यक्रममा कुलपति उप्रेतीले नेपाली साहित्य बारे र पाकिस्तानी एकेडेमीका महानिर्देशक हमिदले पाकिस्तानी साहित्यबारे आफ्ना कुरा राखेका थिए ।

संस्कृति मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले नेपाली संस्कृतिबारे र पाकिस्तानी प्रतिनिधि मण्डलका सदस्य नउसाद खलिकले पाकिस्तानी इतिहास र सम्पदाबारे जानकारी गराएका थिए । प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले धन्यवाद व्यक्त गरे ।