‘अर्गानिक विधिद्वारा खेती गर्नुको नरहेको’

महोत्तरी, जेठ १ । प्रदेश नं २ का कृषिमन्त्री शैलेन्द्र साहले कृषि क्षेत्रको विकास र प्रबद्र्घन गर्नका लागि किसानले अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प नरहेको प्रस्ट पारेका छन् ।

महोत्तरीको गौशाला नगरपालिकास्थित सोमबार निगौल गाई गौशाला व्यवस्थापन कार्यालयको अनुगमन गर्ने क्रममा उनले प्रदेश नं २ कृषिमा आधारित रहेकाले थोरै समयमा पनि बढी उत्पादन गर्नका लागि उक्त विधिको विकल्प नरहेकोमा जोड दिएका थिए ।

यस संस्थालाई देशकै नमूना संस्था बनाउनका लागि कुनै कसर बाँकी नराख्ने मन्त्री साहले प्रतिबद्धता गरेका छन् । कार्यक्रमका बीच प्रदेश अर्थमन्त्री विजय यादवले भारतका दरभंगाका महाराजले सञ्चालनमा ल्याएको ऐतिहासिक यस संस्थालाई जोगाउनका लागि प्रदेश सरकारले आगामी दिनमा हरसम्भव सहयोग गर्ने विचार व्यक्त गरे ।

सोही क्रममा गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले देशकै नमूना संस्थालाई जोगाउनका लागि चौतर्फी सहयोगको माग गरेका छन् ।

राष्ट्रिय कृषि विकास बोर्डद्वारा सञ्चालित निगौल गाई गौशालामा हाल कार्यालय प्रमुखको अभावमा लामो समयदेखि निमित्तको भरमा सञ्चालनमा आएको जसका कारण संस्थाले सोचे अनुरुपको प्रगति गर्न नसकेको कार्यालयको भनाइ छ ।