फोरम  सरकारमा सहभागी हुने नेता श्रेष्ठको दाबी

पर्सा, जेठ १ । संघीय समाजवादी फोरम नेपालसँग सरकारमा सहभागी हुने सहमति भएको नेकपा (माओवादी केन्द्र) पार्टीका नेता नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साले संयुक्त रुपमा वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले फोरमलाई चाँडै सरकारमा सहभागी गराइने तर सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टीसँग भने छलफल नभएको बताएका छन् ।

पूर्वउपप्रधानमन्त्री श्रेष्ठले मधेशका विषयमा संसद्मा दर्ता भएको संशोधन प्रस्तावका पक्षमा माओवादी केन्द्रको अडान अहिले पनि कायम रहेको समेत जानकारी गराएका छन् । श्रेष्ठले समृद्धिकोे बाटोलाई अंँगाली सामाजिक न्यायसहितको नेपाल निर्माण गर्न सरकार र सबै राजनीतिक दलको मुख्य कार्यभार भएकाले यसतर्फ सबैको ध्यान केन्द्रित हुन आवश्यक रहेको समेत प्रष्ट पारे ।

पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा स्वागत गर्ने क्रममा मुलुकभित्रको विषयलाई विदेशीका अगाडि राख्ने तरीका दुःखद् भएको आलोचना समेत गरे ।