काठमाडौं, जेठ १ । शुक्रबार भारतीय सांसद कृति आजादले ट्विट गरेको विषयमा नेविसंघले विरोध जनाएको छ ।
भाजपा सांसद आजादले शुक्रबार ट्विटमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणसँग जोडेर, जनकपुरलाई भारतमा गाभेर मिथिला राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।
उक्त ट्विटको विरोधमा त्रीचन्द्र क्याम्पस अगाडि संघले धर्ना र जुलुस प्रदर्शन गरेको छ । बिहान ९ बजेदेखि गरिएको विरोध प्रदर्शन कोणसभा गर्दै सकिएको केन्द्रीय सदस्य शुशिल भट्टले बताएका छन् ।
प्रदेश नं २ का मुख्यमन्त्रीले जनकपुरमा दिएको अभिव्यक्ति, मुक्तिनाथमा नेपाली सञ्चारमाध्यमलाई प्रवेशमा रोक लगाउनाका साथै सीमा मिचिएकोबारे सरकार मौन बसेको भन्दै विरोध गरिएको नेविसंघका नेता दीपक भट्टराईले बताए ।
नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले भारतीय सांसद आजादले दिएको अभिव्यक्ति दुई देशबीच सदियौँदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पुर्याउने अभिप्राय भएकाले त्यसप्रति सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गराए ।
सांसद आजादले दिएको अभिव्यक्ति सार्वभौमसत्ता, स्वाधीनता र नेपालीको स्वाभिमानमाथिको ठाडो प्रहार भएको उनको भनाइ छ ।
भारतीय सांसदले आजादले उक्त अभिव्यक्तिबारे माफ नमागेसम्म नेविसंघले निरन्तर आन्दोलन गर्ने जनाएको छ ।