जनताको चाहना अनुरुप कार्यक्रम र नीति ल्याउनुपर्ने : पौडेल

कालिकोट, जेठ १ । पैसाको राजनीतिले पार्टी धराशयी बन्दै गएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

यस्तो खालको प्रवृतिबाट मुक्त गरेर संघर्ष, त्याग, सिद्धान्त र योगदानका आधारमा कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीलाई नयाँ जीवन र उर्जा दिनुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ छ । पार्टीले युवा पुस्ता र आधुनिक समयको जनताको चाहना अनुरुप कार्यक्रम र नीति ल्याउनुपर्नेमा समेत नेता पौडेलले जोड दिए ।

मंगलवार कर्णालीमा कांग्रेस संगठन सृदृढीकरण अभियान अन्र्तगत कालिकोटका विभिन्न क्षेत्रमा आयोजित पार्टीका सभालाई संवोधन गर्दै उनले वामपन्थी शक्तिहरु मिलेका कारण भन्दा पनि कांग्रेस सरकारमा हुँदा लोकप्रिय काम गर्न नसक्दा पार्टीले पराजय भोग्नुपरेको प्रस्ट पारे ।

नेतृत्वलाई एकपक्षीय र एकलौर्टी ढंगबाट हिड्न दिनु नहुने भन्दै वरिष्ठ नेता पौडेलले गल्ती कमजोरी औंल्याउँदै त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए ।

वरिष्ठ नेता पौडेल सोमबार दैलेख र सुर्खेतमा नेपाली कांग्रेस पार्टीद्धारा आयोजित विभिन्न सभालाई संवोधन गर्दै कालिकोट आईपुगेका हुन् । यसपछि वरिष्ठ नेता पौडेल जुम्ला र मुगु जाने कार्यक्रम रहेको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।