टेलिकमको सेवा प्रभावकारी बन्न सकेन

मनाङ, जेठ २ । देशमा संचार जगत फराकिलो बन्दै गइरहेका बेला केही ठाउँ यस्ता छन् जहाँ अझै पनि संचारको पहुँच पुग्न सकेको छैन ।

देशका विभिन्न ठाउँका मानिसहरु संचार सेवाबाट बञ्चित छन् । संचारको पहुँच पुगेका ठाउँहरुमा पनि त्यसको राम्रोसँग विकास र विस्ता भइसकेको पाइदैन । सरकारले नेपालका सबै जिल्लामा दूरसञ्चार सेवा पुर्याएको भए पनि हिमाली जिल्ला मनाङमा भने सेवा खासै प्रभावकारी वन्न सकेको छैन ।

नाङवासी नेपाल टेलिकमले दिएको सेवाबाट अझै वञ्चित छन् । ठाउँठाउँमा अग्लाअग्ला टावर निर्माण भएका त छन् तर त्यसको सेवा सुविधा भने प्रभावकारी छैन । अहिलेको आधुनिक संसारलाई जोड्ने सञ्चार संस्थानले धेरै मुनाफा कमाएको अवस्थामा पनि सेवाग्राहीले भने त्यसको लाभ लिन सकेका छैनन् ।

अहिले नेपाल टेलिकमले विभिन्न सेवा सुविधा उपलब्ध गराए पनि मनाङमा फोन सम्पर्कसमेत कठिन भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए । हामीले नेपाल दूरसञ्चार, मनाङ शाखालाई पटकपटक पहल गर्दा पनि यो र उ बहाना बनाएर बेवास्ता गरेको छ उनले भने । यसरी मनाङमा सबै सेवासुविधा हुँदाहुँदै पनि पछाडि परेको उनको भनाइ रहेको छ । उता दूरसञ्चारको भने आफ्नै कहानी छ ।

हिमाली जिल्लामा अप्टिकल फाइवरबाट सञ्चालित सिडिएमए पिडीएसमा टेक्निकल असर परेको नेपाल दूरसञ्चार मनाङ शाखाका प्रमुख निमङैटुक लामाले जनाए । उनका अनुसार नासों गाउँपालिकामा पर्ने ताल, ताँचे बगरछापलगायतका ठाउँमा समस्या देखिएको छ । हावाहुरी, बाटो निर्माणको क्रममा अप्टिकल लाइनका तार क्षति भएको छ । यस्ता समस्याले सेवाग्राही मर्कामा परेका हुन् ।

यसलाई मर्मत गर्न प्राइवेट कम्पनीबाट प्राविधिक ल्याउनु पर्ने भएकाले ढिलो भएको लामाले बताए । हाल मनाङमा रहेका एडिएसएलबाट चल्ने इमेल इन्टरनेट नचल्दा सरकारी कामकाज गर्न निकै कठिनाइ भएको जिल्लामा रहेका सरकारी कार्यालयको गुनासो रहेको छ ।

आजको जमानामा इमेल इन्टरनेटबाट सबै कामकाज गर्नुपर्ने भएको अवस्थामा आवश्यक सेवासुविधाबाट वञ्चित भएर बस्नु परेकोमा मनाङवासी आक्रोशित भएका छन् । मनाङवासीले बिकल्पमा प्राइभेट कम्पनीबाट राखिएता पनि सबै नाफामुखी भएको र सेवासुविधा राम्रो नभएको होटल व्यवसायी थुतेन लामाले बताए ।