मलेसिया जाने कामदारको अतिरिक्त शुल्क हटाउन सरकारको पहल

काठमाडौँ, जेठ ३ । मलेसिया जाने नेपाली कामदारबाट लिने गरेको विभिन्न शीर्षकका अतिरिक्त शुल्क खारेजीका लागि सरकारले पहल अगाडि बढाएको छ ।

श्रम, वैदेशिक, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकमा कूटनीतिक पहल गर्ने गरी एकपक्षीय र अवाञ्छित रुपमा लिइएका शुल्क हटाउने भएको हो ।

आज पत्रकार सम्मेलन गरी श्रममन्त्री गोकर्णराज विष्टले नेपाल र मलेसियाको श्रम सम्झौतामा समेत नभएका ३९ वटा स्वास्थ्य संस्थामा मात्र स्वास्थ्य परीक्षणको व्यवस्था हटाई नेपालमा कानून बमोजिम सञ्चालित सबै संस्थामा परीक्षण गराउन, परीक्षणमा अनलाइन माइग्रामका नाममा प्रतिकामदार रु १२५, मलेसियन दूतावासमा एकीकृत सेवा (ओएसस)का नाममा लिइने दुई हजार ८०० र भ्याट, माइग्रेसन सेक्युरिटी बापत तीन हजार २०० सय, भीसा शुल्क अनलाइनबाट प्रक्रिया गर्न रु तीन हजार २०० लिने काम अवैध, अवाञ्छित र गैरकानूनी भएकाले हटाइने बताए ।

यो निर्णयबाट नेपाली कामदारलाई झण्डै १८ हजार बचत हुनेछ । नेपालबाट वार्षिक करीब डेढ लाख कामदार मलेसिया भित्रने गरेका छन् ।