संविधान संशोधनको ग्यारेन्टी भए मात्र सरकारमा जाने : अध्यक्ष यादव

विराटनगर, जेठ ३ । फोरम नेपाल संविधान संशोधन गर्ने ग्यारन्टी भएमा सरकारमा सहभागी हुने संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

उक्त पार्टीद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान संशोधन, सरकारमा पार्टीको भूमिका तथा संघीयता कार्यान्वयन जस्ता मुद्दा सम्बोधन भएमा मात्र आफुहरु सरकारमा जाने प्रस्ट्याए ।

संविधानलाई मधेशी, आदिवासी जनजाति सबैको सर्वस्वीकार्य र अपनत्व कायम गर्न संविधान संशोधन आवश्यक रहेको भन्दै उनले ‘पार्टी फुट्नुभन्दा जुट्नु’ राम्रो हुने भएकाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकतालाई आफूले सकारात्मक रुपमा लिने बताएका छन् ।

नीति र सिद्धान्तका आधारमा हुने पार्टी एकताले पार्टी दिगो एवम् लोकतन्त्रलाई बलियो बनाउने विचार व्यक्त गर्दै नेता यादवले प्रदेश नं २ का मुख्य मन्त्रीको अभिव्यक्तिलाई लिएर विवाद गर्नुको कुनै अर्थ नरहेको जनाएका छन् ।

फरक प्रसंगमा कुनै पनि संसद्लाई आरोप लाग्नासाथ निलम्बन गर्न नहुने भन्दै उनले गम्भीर आरोप नलागेसम्म वा अदालतले अपराध प्रमाणित नगरेसम्म निलम्बन कानूनको दुरुपयोग हुने बताएका छन् ।