काठमाडौँ, जेठ ३ । एकता संयोजन समितिको बैठकले नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकता प्रक्रियालाई टुंगो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटमा आज बसेको एकता संयोजन समितिको बैठकले उक्त प्रक्रिया टुंगो लगाएको हो । दुई पार्टी बीचको एकताका विषयमा बुधबार सहमति भएको थियो ।
एकता संयोजन समितिको बैठकमा एकताका विषयमा भएका प्रगति र सहमतिको प्रस्ताव प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका थिए । अध्यक्षद्वयको जानकारीपछि बैठकले एकता प्रक्रियालाई अनुमोदन गरेको हो ।
बैठकले एकीकृत पार्टीको अन्तरिम विधान र सांगठनिक प्रतिवेदन समेत पारित गरेको छ । एमालेका महासचिव एवम् संयोजन समितिका सदस्य ईश्वर पोखरेलले एकता प्रक्रियालाई अन्तिम रुप दिइएको जानकारी दिँदै दुवै पार्टीको बैठक बसेर यसलाई अनुमोदन गर्ने बताए । दुई पार्टीको सहमतिअनुसार एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहनेछ ।
सो नाम त निर्वाचन आयोगमा दर्ता भइसकेको छ नि भन्ने प्रश्नमा महासचिव पोखरेलले भने नेकपाको नाममा नै पार्टी दर्ता हुन्छ, समस्या छैन । एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद हुनेछ । यस्तै नेपालको सापेक्षातामा जनताको जनवादलाई स्वीकार गरेर जाने विषयमा समेत दुई पार्टीबीच सहमति भएको छ ।
एकीकृत पार्टीमा पालैपालो नेतृत्व गर्नेलगायतका विषयमा सहमति भएको छ । नयाँ पार्टीको स्थायी समितिमा ४३ जना छन् । त्यसमा एमालेको तर्फबाट २५ र माओवादी केन्द्रका तर्फबाट १८ जना रहने निर्णय गरिएको छ ।
कूल ४४१ जनाको केन्द्रीय समितिमा २४१ एमालेका तर्फबाट र २०० जना माओवादी केन्द्रका तर्फबाट रहनेछन् । एकीकृत पार्टीको चुनाव चिह्न सूर्य रहनेछ । एकता संयोजन समितिको बैठकलगत्तै प्रधानमन्त्री निवास बालुवाटामा एमाले केन्द्रीय समितिको बैठक शुरु भएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार केन्द्रीय समितिमा पार्टी एकताका बारेमा जानकारी गराउने कार्यक्रम छ । उता माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकसमेत बस्ने भएको छ ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार केन्द्रीय कार्यालयको बैठकमा पार्टी एकताको प्रक्रियाका बारेमा अध्यक्ष दाहालले जानकारी दिने कार्यसूची रहेको छ ।
एकीकृत पार्टी दर्ता गराउने
एकता संयोजन समितिको बैठकमा भएको सहमति अनुसार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल संयुक्त रुपमा निर्वाचन आयोग पुगेर एकीकृत पार्टी दर्ता गराउने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमलगत्तै राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा कार्यक्रम गयारी भएको छ । अपराह्न १६ः०० बजेका लागि सो कार्यक्रम आयोजना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव श्रेष्ठले जानकारी दिए साँझ एक होटलमा यहाँ एकीकृत पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बस्ने कार्यक्रम छ । रासस